एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए
pawan chamling


गान्तोक, 20 अगस्त (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा समस्त नेपालीभाषी, भाषाप्रेमी, भाषाकर्मीहरूमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गरेका छन्।

एसडीएफ अध्यक्षले बिहिबार जारी आफ्नो सन्देशमा भने, शताब्दिऔँदेखि बोलिँदै, लेखिँदै, फैलँदै, झ्याँगिँदै र समृद्ध बन्दै आएको नेपाली भाषालाई भारतीय उपमहाद्वीपको एक विकसित भाषाको रूपमा संवैधानिक मान्यता 20 अगस्त, 1992 को दिन प्राप्त भएको थियो। यसै ऐतिहासिक दिनलाई हामी सम्पूर्ण भारतेली नेपालीहरू भाषिक दृष्टिले युग परिवर्तनकारी दिवस मान्दछौँ। यो केवल नेपाली भाषालाई संवैधानिक मान्यता थिएन, तर यस भाषामार्फत् आफ्नो आत्मालाई अभिव्यक्ति दिने, संसारलाई परिभाषित गर्ने भाषिक जनगोष्ठीलाई राष्ट्रले दिएको परिचिति थियो।

उनले भने, आज नेपाली भाषा जनसाङ्ख्यिक दृष्टिले विश्वमा बहुसङ्ख्यकले बोल्ने भाषा नभए पनि धेरै अन्य भाषाभाषीले बुझ्ने समृद्ध भाषाहरूको श्रेणीमा आउँदछ। यस भाषामा लेखिने विविध पुस्तक एवं साहित्यहरूले समस्त विश्वको भाव र वस्तुलाई अभिव्यक्ति दिन सक्षम बनिरहेको छ। निश्चय नै आज तीव्र गतिले अघि बढ़्दो संसार, मानव प्रगति र चिन्तनलाई समेट्दैजानु हाम्रो निम्ति चुनौतीको विषय हो।

एसडीएफ अध्यक्षले प्रतिवर्षझैँ यस वर्ष पनि भाषा मान्यता दिवसलाई नेपाली भाषाको विस्तार गर्ने, समृद्ध र गहनता थप्ने, नयाँ पुस्तालाई प्रशिक्षित गर्ने र भाषालाई हाम्रो सभ्यताको परिचायक बनाएर अघि लैजाने सङ्कल्प बाँधौँ भनी आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande