
खरसाङ, 29 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को खरसाङमा हुने स्थापना दिवसलाई लिएर केन्द्रिय समितिको सांगठनिक सभा आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। सभा भागोप्रमोको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको अध्यक्षतामा सम्पन्न भयो।
भागोप्रमोले आगामी 9 सेप्टेम्बरका दिन खरसाङको मन्टिभियट खेल मैदानमा आफ्नो स्थापना दिवस आयोजना गर्ने भएको छ। पार्टीको छैंटौं स्थापना दिवस यसपाली खरसाङमा नै आयोजना गरिने घोषणा पहिलेबाट पार्टी अध्यक्ष थापाले गरिसकेका छन्।
सभालाई केन्द्रिय महासचिव अमर लामाले सम्बोधन गर्दै भने, 'हाम्रो चुनौती भनेको हामी ठूलो क्षेत्रीय पार्टी बनिरहनु हो। अब हामी यो पार्टी युवाहरुको हातमा दिन तयार छौं। युवाहरुले पनि राजनैतिक अनुभव लिएर काम गर्नुपर्छ। हामीलाई पनि राजनैतिक दलसित गठबन्धन गरेर अघि बढ्ने आवश्यकता छैन।'
उनले अघि भने, 'राजनीतिमा उत्तर चढाउ आउँछ, तर हाम्रो पतन भने भएको होइन। केही साथीहरूले पार्टी छोडे पनि तल्लो तहदेखि नै भागोप्रमोलाई सबैको साथ र सहयोग छ।' उनले पार्टीको स्थापना दिवसपछि पार्टीको अधिवेशन आयोजना गर्ने बताउँदै दुई दिवसीय अधिवेशन राखेर राजनैतिक प्रस्तावहरु पारित गर्ने पनि जानकारी गराए।
सभामा दार्जिलिङ महकुमा समितिको सभापति आलोक कान्तमणि थुलुङले वक्तव्य राख्दै भने,'हाम्रो संगठनलाई केही पनि भएको छैन। अझ बलियो बनेको छ। अबको नेतृत्वमा एका अर्कामा सपोर्ट गर्नुपर्छ। यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पतन होइन, तर उत्थान हो। हालमा युवाहरुले भागोप्रमोलाई नेतृत्व गरिरहेका छन्। यो पार्टीमा छानिने प्रक्रिया रहेको छ।'
उनले गोजमुमो अध्यक्ष बिमल गुरुङमाथि अशोक भट्टाचार्यको बयानको विरोध जनाउँदै भने, 'यो हाम्रो जातिको विषय हो। यसमाथि बोल्ने अधिकार कसैलाई छैन, कारण यो हाम्रो जातिगत कुरा हो।'
सभालाई बारुद थापा, केन्द्रिय उपाध्यक्ष प्रमोस्कर ब्लोन र मिरिक महकुमाका प्रवक्ता उमेश तोलङ्गीले पनि सम्बोधन गरेका थिए।
सभामा खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामु र पञ्चायत समिति सदस्य एन्ड्रुहाङ सुब्बालाई केन्द्रिय समितिमा नियुक्त गरियो। त्यसरी नै फुबी राईलाई मिरिक महकुमा संयोजक नियुक्त गरियो। यसै क्रममा खरसाङ महकुमा समितिमा उपाध्यक्ष लगायत अन्य पदहरुमा पनि नयाँ पदाधिकारीहरु नियुक्त गरियो।
साथै, खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिकहरुमा नियुक्त नयाँ पदाधिकारीहरुलाई अध्यक्ष थापा र महासचिव लामाले खदार्पण गरेर बधाई दिए।
हिन्दुस्थान समाचार / हनोक