पश्चिम सिक्किमका डान्स एकाडेमीहरूले राजधानीमा गिती नाटक 'रातो कात्रो' प्रस्तुत गर्ने
पश्चिम सिक्किमका डान्स एकाडेमीहरूले राजधानीमा गिती नाटक 'रातो कात्रो' प्रस्तुत गर्ने


गान्तोक, 29 अगस्त (हि.स.)। पश्चिम सिक्किमका विभिन्न डान्स एकाडेमीहरूले राजधानीको मनन केन्द्रमा सामूहिक रूपमा 'रातो कात्रो' नामक एउटा गिती नाटक प्रस्तुत गर्ने भएको छ। उक्त गिती नाटक अल सिक्किम डान्स इन्स्टिट्यूट एसोसिएशनको समर्थनमा आगामी 6 सेप्टेम्बरका दिन प्रदर्शित गरिने छ। आयोजक संस्थाहरूले राज्यवासीहरूलाई कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गरेका छन्।

डान्स एकाडेमी ट्विस्ट यूआर टोस्, सोमबारियाकी संस्थापक सुष्मा योञ्जनले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा भनिन्, पश्चिम सिक्किमका चारवटा डान्स एकाडेमीले आगामी 6 सेप्टेम्बरका दिन राजधानीको मनन केन्द्रमा 'रातो कात्रो' नामक एउटा गिती नाटक प्रस्तुत गरिरहेको छ। डान्स एकाडेमीहरूमा सुखिम युनाइटेड डान्स एकाडेमी- सोरेङ, हिमालयन डान्स एकाडेमी- पेलिङ, डान्सर्स हार्टबीट एकाडेमी- गेजिङ र ट्विस्ट यूआर टोस्- सोमबारिया रहेका छन्।

गान्तोकमा कार्यक्रम आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै उनले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम सिक्किमका डान्स एकाडेमीहरूलाई अगाडि बढान धेरै समर्थन गर्दै आइरहेको बताइन्। यस कारण पश्चिम सिक्किमका डान्स एकाडेमीहरूले मुख्यमन्त्रीको सम्मानमा एउटा गिती नाटक प्रस्तुत गर्ने निधो गरेको बताइन्। उनले उक्त दिन मुख्यमन्त्रीको पनि उपस्थिति रहने बताइन्। उनले राज्यवासीहरूका साथै अहिलेसम्म नैतिक समर्थन गर्दै आएका पश्चिम सिक्किमका जनतालाई पनि कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरिन्।

अल सिक्किम डान्स इन्स्टिट्यूट एसोसिएशनकी अध्यक्ष सुष्मा छेत्रीले पश्चिम सिक्किम पहिले ओझेलमा परेको थियो भने वर्तमान सरकारमा पश्चिम सिक्किमले पनि हरेक क्षेत्रमा अगाडि बढ्ने अवसर पाइरहेको बताइन्। उनले पश्चिम सिक्किममा पनि प्रतिभाहरूको कुनै कमी छैन भन्दै सबैलाई समर्थन गरिदिन र कलाकारहरूको मनाबल बढाइदिन अनुरोध गरिन्। उनले गिती नाटक 'रातो कात्रो' दिउॅंसो 3:30 बजीदेखि शुरू हुनेछ भने प्रवेश नि:शुल्क रहेको जानकारी दिइन्।

एक प्रश्नको जवाफमा सुष्मा योञ्जनले यस गिती नाटकमा कूल 62 जना कलाकारहरूले सामूहिक रूपमा प्रस्तुति दिने बताइन्। उनले गिती नाटकको अवधि लगभग 55 मिनट रहेको बताइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande