भारतको नियति विश्वलाई विविधतामा एकताको बोध गराउनु : मोहन भागवत
संघ प्रमुख मोहन भागवतले आज भोपालमा विद्या भारतीको अभ्यास वर्गको उद्घाटन गर्ने


न्युयोर्क, ३० अगस्त (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक मोहन भागवतले शनिबार यहाँ प्रत्येक राष्ट्रको आफ्नै सन्देश, उद्देश्य र नियति हुने बताउँदै भारतको नियति विश्वलाई विविधतामा एकताको बोध गराउनु रहेको बताएका छन्। उनले विविधताले एकतालाई कमजोर नबनाउने, बरु त्यसलाई अझ सुन्दर बनाउने बताए।

न्युयोर्कको म्यानहट्टनमा ‘एहेड फोरम’ द्वारा आयोजित युनिभर्सल अननेस सेलिब्रेसन कार्यक्रममा बोल्दै भागवतले स्वामी विवेकानन्दका विचार उल्लेख गरे। उनले भने, “स्वामी विवेकानन्दले भन्नुभएको थियो कि प्रत्येक देशको एउटा सन्देश हुन्छ, प्रत्येक देशको एउटा उद्देश्य हुन्छ र प्रत्येक देशको एउटा नियति हुन्छ, जसलाई उसले पूरा गर्नुपर्छ। भारतको नियति के हो? भारतको काम ‘विविधतामा एकता’ लाई स्वयं बुझ्नु र समय-समयमा विश्वलाई पनि यसको अनुभूति गराउनु हो।”

उनले भने, “हामी एक हौँ र विविधताकै कारण हाम्रो एकता अझ सुन्दर देखिन्छ। त्यसैले विविधताको उत्सव मनाउनुपर्छ।”

भागवतले विविधताको उत्सव मनाउनुका साथै त्यसको सम्मान र स्वीकार गर्नुपर्नेमा जोड दिए। साथै, मानिसहरूले आफ्नो मनभित्र एकताको भावना कायम राख्नुपर्ने बताए। उनका अनुसार, विभिन्न स्वरूप र पहिचान भए पनि सबैबीच एकताको भावना वास्तविक छ।

मोहन भागवतले भारतीयहरूलाई आफ्नो व्यवहार र आचरणमार्फत विविधतामा एकताको सन्देश विश्वसामु प्रस्तुत गर्न आग्रह गरे। उनले भारतले यो सन्देश केवल भाषण वा उपदेशमार्फत नभई आफ्नो व्यवहारबाट उदाहरण प्रस्तुत गर्दै दिनुपर्ने बताए। उनका अनुसार, यही दिशाबाट भारतले आफ्नो दायित्व पूरा गर्न सक्छ।

उनले मानिसहरूको शरीर, पहिरन र पूजा-उपासना गर्ने पद्धति फरक हुन सक्ने भए पनि सबैलाई जोड्ने एउटा स्थायी तत्व रहेको बताए। उनले यसको तुलना एउटै धागोमा उनिएका मालाका विभिन्न मोतीसँग गरे। उनका अनुसार, यही आत्मतत्व सबैबीच एकताको आधार हो।

भागवतले मानव जीवनको उद्देश्य केवल भौतिक सुख प्राप्त गर्नु मात्र नभएको बताए। भारतीय परम्परामा जीवनको उद्देश्य सत्यको खोजी र मोक्षको दिशामा अघि बढ्नु रहेको उल्लेख गर्दै उनले यससँगै विश्वकल्याणका लागि काम गर्नुपर्ने भावनालाई पनि जोडिएको बताए।

उनले धर्मलाई सन्तुलन कायम राख्ने सिद्धान्त का रूपमा व्याख्या गरे। उनका अनुसार, धर्म केवल रिलिजन वा उपासना गर्ने विषय होइन, यो व्यक्ति, समाज र पर्यावरणबीच सन्तुलन कायम राख्ने व्यवस्था हो। भारतले यही समझलाई आफ्नो आचरणमार्फत विश्वसम्म पुर्याउनुपर्ने उनले बताए।

कार्यक्रममा अमेरिकाका ३९ राज्य र ८५३ शहरबाट आएका ६,000 प्रतिनिधि, विभिन्न विश्वविद्यालयका २५० भन्दा बढी विद्यार्थी तथा २५० भन्दा बढी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा ३० देशका १८० धार्मिक नेताहरूले भविष्यप्रतिको जिम्मेवारी तय गर्न पाँच सूत्रीय कार्ययोजना घोषणा गरे।

धार्मिक नेताहरूले धर्मलाई घृणा, अपमान, अमानवीय व्यवहार वा हिंसालाई उचित ठहर्याउन प्रयोग गर्न नसकिने स्पष्ट पारे। ‘एक विश्व, एक मानवता’ को आह्वानसहित पारित प्रस्तावमा कुनै पनि समुदायको गरिमा र सुरक्षाका लागि उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande