मङ्गन जिल्लामा १५ हजार फिट उचाइमा याक काफ र्याली आयोजित
मङ्गन जिल्लामा १५ हजार फिट उचाइमा याक काफ र्याली आयोजित


मङ्गन, ३१ अगस्त (हि.स.)। पशुपालन तथा पशु चिकित्सा सेवा विभाग, मङ्गन जिल्लाले १५ हजार फिटको उचाइमा याकका बाच्छा (काफ) र्‍याली आयोजना गरेको छ। विभागकी अतिरिक्त निर्देशक डा. दिछेन ओ. काल्योनको नेतृत्वमा विभागीय टोलीले २९ अगस्तका दिन लाचेनको गोचुङ र लाशार भ्यालीमा आरजीएम २०२६-२७ अन्तर्गत उक्त र्‍याली सम्पन्न गरेको हो।

सिक्किमेली याकलाई हालै भारत सरकारअन्तर्गत राष्ट्रिय पशु आनुवंशिक स्रोत ब्युरो (एनबीएजीआर) ले छुट्टै प्रजातिका रूपमा मान्यता दिँदै दर्ता गरेको छ। सामूहिक रूपमा १,८३१ वटा याक पाल्ने डोङकोङ समूहका याक गोठालाहरू गर्मीको मौसममा गोचुङ र लाशार क्षेत्रमा बसाइँ सर्ने गर्छन्। टोलीले गोचुङ-लाशार-ब्याम्जे ट्रेकमार्फत करिब १८ किलोमिटर दूरी पार गरेको थियो। अक्सिजनको मात्रा कम रहेको अत्यधिक उचाइमा टोलीले उक्त यात्रा पूरा गरेको बताइएको छ।

र्‍यालीमा ११ जना याक किसान अर्थात् ड्रोक्पाहरूले एक वा एकभन्दा बढी बाच्छासहित सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने छिरिङ छोन्डेनको याक बाच्छालाई १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरियो। दोस्रो स्थान छिरिङ नोर्बुको बाच्छाले हासिल गर्दै १२ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्‍यो। यसैगरी, तेस्रो स्थान पेमा थिन्लेको बाच्छाले हासिल गर्दै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्‍यो। बाँकी आठ जना सहभागीलाई ५ हजार रुपियाँका दरले सान्त्वना पुरस्कार प्रदान गरियो।

पशुपालन तथा पशु चिकित्सा सेवा विभागका अनुसार, ड्रोक्पाहरूलाई याकको हेरचाहका लागि खाना पकाउने तेल र धुने पाउडरसहित बाह्य परजीवी नियन्त्रणका औषधि, जुका नियन्त्रण गर्ने औषधि तथा क्याल्सियम सप्लिमेन्ट समावेश गरिएका केयर प्याकेज पनि वितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande