
हावडा, २० सेप्टेम्बर (हि.स.)। परिवार र समाजबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देशसहित आइतबार हावडास्थित शरत सदनमा ‘सर्वमंगलम्’ कार्यक्रम आयोजना गरियो। कुटुम्ब प्रबोधन टोली, हावडा महानगरको तत्वावधानमा केशव निवेदिता सेवा समितिको सहयोगमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघका वरिष्ठ प्रचारक नन्दलाल जोशी (बाबाजी), हावडा नगर निगमका आयुक्त तेजस्वी राणा, हावडा शहर पुलिस आयुक्त अखिलेश कुमार चतुर्वेदी, आईपीएस, समाजसेवी रोशनलाल अग्रवाल, आनन्द कुमार शर्मा तथा डा. सञ्जय कुमार बसु उपस्थित थिए।
संघका वरिष्ठ प्रचारक नन्दलाल जोशी (बाबाजी) ले ‘सर्वमंगलम्’ कार्यक्रम नामको सार्थकताबारे बताउँदै ‘सर्वमंगलम्’ को भावनामा सबैको कल्याणको कामना निहित रहेको बताए। आफ्नो सम्बोधनमा उनले प्रकृति र मानिसबीचको सम्बन्धको महत्वलाई रेखाङ्कित गर्दै प्रकृतिविरुद्ध गएर मानिसका लागि केही पनि गर्न सम्भव नहुने बताए।
हावडा नगर निगमका आयुक्त तेजस्वी राणाले परिवार तथा समाजमा व्यक्तिको व्यवहार र मूल्यको महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रममार्फत मानिसलाई विभिन्न विषयप्रति सचेत गराउन सके समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सकिने बताए।
हावडा शहर पुलिस आयुक्त अखिलेश कुमार चतुर्वेदीले आफ्नो सम्बोधनमा राष्ट्रिय स्वयंसेवक संघसँग समाजका विभिन्न वर्गका मानिसहरूको सम्बन्ध थप सुदृढ हुँदै गएको बताए। उनको सम्बोधनमा देशको संस्कृति र मूल्यको संरक्षणमा संघको भूमिकाको पनि उल्लेख गरिएको थियो।
वर्तमान समयमा सामाजिक सञ्जालको प्रभाव तथा युवा पुस्तासँग परिवारको संवादको विषय पनि पुलिस आयुक्तले उठाए। उनले व्यस्तता र सामाजिक सञ्जालका कारण कतिपय अवस्थामा परिवारसँग पर्याप्त समय बिताउन सम्भव नहुने बताए। त्यसैले उनले परिवारसँग जोडिएर रहनुका साथै यस्ता कार्यक्रममा सहभागी हुन सबैलाई प्रोत्साहित गरे। उनले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवादसमेत दिए।
डा. सञ्जय कुमार बसुले ‘कुटुम्ब प्रबोधन’ शब्दको महत्वमाथि प्रकाश पारे। उनले ‘कुटुम्ब’ शब्दले केवल आफ्नो परिवारलाई मात्र नजनाउने, छिमेकीसँगको सम्बन्ध पनि यसमा महत्वपूर्ण हुने बताए। वर्तमान समयमा मानिसहरूको छिमेकीसँगको सम्बन्धमा क्रमशः दूरी बढ्दै गएको उनको भनाइ थियो।
छिमेकीसँग मधुर सम्बन्ध स्थापना गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै उनले लामो समयदेखि राष्ट्रिय स्वयंसेवक संघले आपसी सम्बन्ध र सामाजिक बन्धन सुदृढ बनाउन जोड दिँदै आएको बताए। ‘कुटुम्ब प्रबोधन’ को महत्व मानिसहरूले बुझ्नुपर्नेमा उनले जोड दिए। यसमार्फत समाजका विभिन्न समस्याको समाधानको बाटो तयार हुन सक्ने उनले बताए।
यसअघि उद्घाटन गीत र ‘वन्दे मातरम्’ को प्रस्तुतिसँगै कार्यक्रम शुरु भएको थियो। त्यसपछि मञ्चमा उपस्थित अतिथिहरूको परिचय गराउँदै स्वागत गरिएको थियो। कार्यक्रमको अन्त्यमा ‘धनधान्य पुष्पभरा’ गीत प्रस्तुत गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा परिवार, समाज, संस्कृति तथा आपसी सम्बन्धको महत्वबारे पनि छलफल गरिएको थियो। आयोजकका तर्फबाट यस्ता कार्यक्रममार्फत पारिवारिक तथा सामाजिक मूल्यलाई थप सुदृढ बनाउने सन्देश दिइएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी