
जलपाईगुड़ी, 23 सेप्टेम्बर (हि. स.)। सदा जस्तै बुधवार बिहान पनि मर्निङ्ग वक गर्नका लागि घरबाट हिँड़ेका दुई जना महिलाहरूको सड़क दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटना 17 नम्बर राष्ट्रिय राजमार्गको चेल ब्रिजको छेउमा भएको हो। मृतकाहरूको पहिचान दीपमाला थापा र सुमी देवी प्रसादको रूपमा भएको छ। दुवै मालबजार ब्लकको उदलाबाड़ीस्थित देवीपाड़ाका निवासी थिए।
स्थानीय मानिसहरू अनुसार यी दुई महिलाहरू बुधवार बिहान सवेरै सदा जस्दै मर्निङ्ग वकको निम्ति निक्लेका थिए। चेल ब्रिजको छेउमाराष्ट्रिय राजमार्ग किनारमा पैदल हिँड़िरहेको बेला एउटा द्रूत गतिको सानो कारले उनीहरूलाई ठक्कर दियो। घटनापछि चालक घटनास्थलबाट भाग्यो। ठक्करको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे जहाँ दुई महिलाहरू घाइते भएर मुर्छित परेका थिए। उनीहरूलाई बचाउने प्रयास गरियो, तर दुवैको मृत्यु भइसकेको थियो।
घटनाको जानकारी पाएर पुलिस दुर्घटनास्थलमा पुग्यो। पुलिसले दुर्घटनामा सामेल वाहन र दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। घटनापछि राष्ट्रिय राजमार्गमा बिहानको समयमा पैदल हिँड़्ने मानिसहरूको सुरक्षालाई लिएर पनि प्रश्न उठिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा