पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, १० स्थानमा सटीक आक्रमण गरिएको दाबी
सांकेतिक।


इस्लामाबाद, २४ सेप्टेम्बर (हि.स.)। पाकिस्तानले अफगानिस्तानमा नयाँ हवाई हमला गरेको छ। सङ्घीय सूचना मन्त्री अताउल्लाह तरारले वायुसेना र ड्रोनमार्फत अफगानिस्तानका १० स्थानमा सटीक हमला गरिएको दाबी गरेका छन्। ती स्थानहरू ड्रोन प्रक्षेपण गर्न तथा भण्डारण गर्न प्रयोग हुँदै आएका थिए। तरारले ती स्थानहरू कुन-कुन हुन् भन्ने खुलाएका छैनन्।

‘द बलोचिस्तान पोस्ट’ को रिपोर्टअनुसार, पाकिस्तानी सरकारी सञ्चारमाध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै पाकिस्तानले बुधबार बिहान अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरिरहेका आठवटा ड्रोन खसालेको जनाएको छ। बिहीबार बिहान गरिएको यस घोषणापछि अफगानिस्तानको ‘टोलो न्युज’ ले खोस्तका गभर्नरका प्रवक्ता मुस्तगर गुरबजलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानले बिहान करिब ३ः३० बजी हमला गरेको थियो र गुरबज जिल्लाको क्याम्प गुलानका साथै इस्माइल खेल र मन्दोजी जिल्लाका केही क्षेत्रलाई निशाना बनाइएको थियो।” गुरबजका अनुसार हमलामा कुनै मानवीय क्षति भएको छैन।

सङ्घीय सूचना मन्त्री तरारले ‘एक्स’ मा गरेको पोस्टमा २३ सेप्टेम्बरमा अफगानिस्तानबाट पाकिस्तानमा ड्रोन पठाइएको आरोप लगाएका छन्। ती ड्रोन अफगान तालिबानका रहेको उनले दाबी गरेका छन्। तीमध्ये चारवटा तोरखम सीमासँग जोडिएका क्षेत्रमा खसालिएको तथा बाँकी चारवटा कोहाटसँग जोडिएका पहाडी सीमावर्ती क्षेत्रमा नष्ट गरिएको उनले बताएका छन्।

अफगानिस्तानमा तालिबान सरकारको रक्षा मन्त्रालयका प्रवक्ता सिद्दीकुल्लाह नुसरतले पाकिस्तानको आरोप अस्वीकार गरेका छन्। यसअघि २१ सेप्टेम्बरमा पाकिस्तानले अफगान सीमा क्षेत्रमा तहरीक-ए-तालिबान पाकिस्तान र त्यससँग सम्बन्धित समूहका अखडालाई निशाना बनाएको दाबी गरेको थियो। उक्त हमलामा आत्मघाती हमलाकारीसहित २८ जना आतङ्ककारी मारिएको बताइएको थियो। त्यसपछि अफगान तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ‘एक्स’ मा पोस्ट गर्दै अफगानिस्तानले उक्त हमलाको जवाफ दिने बताएका थिए।

‘द न्युज’ को रिपोर्टअनुसार, अताउल्लाह तरारले आफ्नो ‘एक्स’ मा लेखेका छन्, “आत्मरक्षाको आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै पाकिस्तानले अफगानिस्तानका ती १० स्थानमा सटीक हवाई तथा ड्रोन हमला गरेको छ, जसलाई यी ड्रोन प्रक्षेपण गर्न र भण्डारण गर्न प्रयोग गरिँदै आएको थियो।”

उनले पाकिस्तानले अफगान तालिबान सरकार र उसका प्रतिनिधिहरूसमक्ष अफगान भूमिमा आतङ्ककारी अखडा तथा तिनका सहयोगी सञ्जालको उपस्थितिलाई लिएर आफ्ना गम्भीर चिन्ता पटक-पटक व्यक्त गर्दै आएको बताए। यसलाई तालिबान सरकारले कहिल्यै गम्भीरतापूर्वक नलिएको उनको आरोप छ। तरारले पाकिस्तानले अफगान क्षेत्रबाट हुने हमलालाई न स्वीकार गर्ने र न त सहन गर्ने बताए।

तरारले भने, “पाकिस्तान अफगान तालिबान शासनलाई पाकिस्तानविरुद्धका सबै शत्रुतापूर्ण गतिविधि तत्काल बन्द गर्न र अफगान भूमिबाट सञ्चालन भइरहेका आतङ्ककारी सङ्गठनविरुद्ध प्रभावकारी, ठोस, प्रमाणित गर्न सकिने तथा निरन्तर कारबाही गरेर आफ्ना अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न आग्रह गर्दछ। पाकिस्तानविरुद्ध हमला गर्न वा शत्रुतापूर्ण अभियान सञ्चालन गर्न अफगान भूमिको प्रयोग गरिनु हुँदैन।”

मन्त्री तरारले पाकिस्तान तनाव बढाउन नचाहेको र क्षेत्रीय शान्ति, वार्ता तथा रचनात्मक सम्बन्धका लागि प्रतिबद्ध रहेको बताए। उनले यो प्रतिबद्धतालाई कमजोरी वा शत्रुतापूर्ण गतिविधिप्रति असीमित सहनशीलताका रूपमा बुझ्न नहुने बताए। तरारले भने, “पाकिस्तानले पूर्ण दृढताका साथ आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र आफ्ना नागरिकहरूको जीवनको रक्षा गर्नेछ तथा उनीहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्नेछ। अफगान तालिबानतर्फबाट हुने कुनै पनि थप उक्साहटपूर्ण कारबाहीको कडा र दृढतापूर्वक जवाफ दिइनेछ।”

सीमापार उग्रवादको इतिहास

पाकिस्तानी सञ्चारमाध्यमका रिपोर्टअनुसा, सन् २०२१ मा अफगान तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा सीमापार आतङ्कवादी घटनामा उल्लेख्य वृद्धि भएको छ, विशेषगरी खैबर पख्तुनख्वा र बलोचिस्तानमा। इस्लामाबादले पटक पटक काबुललाई आफ्नो भूभाग आतङ्ककारी सङ्गठनहरूले पाकिस्तानभित्र हमला गर्न प्रयोग गर्न नदिन आग्रह गर्दै आएको छ।

पाकिस्तानको भनाइअनुसार, अफगान तालिबान अधिकारीहरू पाकिस्तानी सुरक्षा बल र नागरिकमाथि हमलाका लागि जिम्मेवार समूहविरुद्ध प्रभावकारी कारबाही गर्न असफल भएका छन्, जबकि काबुलले यसलाई अस्वीकार गर्दै आएको छ।

पाकिस्तानले २०२६ को फरवरीमा ‘अपरेसन गजब लिल हक’ शुरु गरेको थियो। यो सन् २०२५ को अक्टोबरमा विभिन्न सीमावर्ती क्षेत्रमा भएको झडपपछि दुई देशबीच युद्धविराममा सहमति भएको केही महिनापछि शुरु गरिएको थियो। धेरै चरणमा वार्ता भए पनि इस्लामाबाद र काबुलले अझै आफ्ना मतभेद समाधान गर्न सकेका छैनन् र अफगान भूमिबाट सञ्चालन भइरहेका आतङ्ककारी समूहको मुद्दा दुवै पक्षबीच विवादको प्रमुख कारण बनेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande