
गान्तोक, 30 सेप्टेम्बर (हि.स.)। कञ्चनजङ्घा राज्य विश्वविद्यालय, संस्कृत विभाग र केन्द्रिय संस्कृत विश्वविद्यालय, नयाँ दिल्लीको संयुक्त तत्त्वावधानमा दस दिवसीय सरल, मानक संस्कृत शिविरको समापन कार्यक्रम आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङको प्रेक्षागृहमा सफलतापूर्वक सम्पन्न भयो।
विद्यार्थी एवम् संस्कृत भाषा सिक्न इच्छुक सर्वसाधारणलाई लक्ष्य गर्दै संस्कृत भाषाको अध्ययन तथा संस्कृत भाषाप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले गत २१ सेप्टेम्बरदेखि शिविरको आयोजना गरेर आज औपचारिक रूपमा समापन गरिएको हो। समापन समारोहमा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिका तथा विश्वविद्यालयका कुलपति प्रो. डा आशिष शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
समापन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथिले संस्कृत भाषा विविध ज्ञानानुशासनसँग जोडिएको महत्त्वर्ण भाषा रहेको उल्लेख गर्दै समयक्रममा संस्कृत भाषाको प्रयोगमा कमी आउनका साथै यसको प्रभाव घट्दै गएकोमा चिन्ता व्यक्त गरे। यीसँगै विभिन्न भाषाको विकाससँगै संस्कृतका धेरै पक्षहरू ओझेलमा परे तापनि भारतीय भाषाहरूले संस्कृतबाट शब्द, साहित्य र ज्ञान परम्परा ग्रहण गर्दै संस्कृतको संरक्षण र पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
उनले संस्कृत भाषालाई भाषावैज्ञानिक अध्ययनका दृष्टिले सम्पन्न रहेको बताउँदै यसको संरक्षणका लागि अध्ययन, लेखन र दैनिक जीवनमा प्रयोग गर्नु पर्नेमाथि जोड दिए। उनले विद्यार्थीहरूमाझ आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्य हासिल गर्न प्रोत्साहन पनि गरे।
विशिष्ट अतिथिका रूपमा उपस्थित कञ्चनजङ्घा राज्य विश्वविद्यालयका कुलपतिले संस्कृत विभागले जनसाधारणमाझ संस्कृत भाषाको प्रशिक्षण प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरेको बताउँदै राज्यका सबै जिल्लामा विस्तार गर्ने भावी योजना रहेको बताए। उनले संस्कृत भाषा, प्राचीन ज्ञान, साहित्य, दर्शन, योग, आयुर्वेद तथा वास्तुकलाजस्ता विभिन्न ज्ञानपरम्पराको महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै संस्कृत भाषालाई आधुनिक विज्ञान तथा प्रविधिसँग जोडेर नयाँ सम्भावनाको खोजी गर्न सकिने उनले बताए।
विविध साहित्यिक एवम् सांस्कृतिक प्रस्तुतिका साथ सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत सम्बोधन संस्कृत विभागका विभाग प्रमुख डा लीलाधर भट्टराईले गरेको थियो। संस्कृत विभागका सहायक प्राध्यापक एवम् सरल मानक संस्कृत शिविरका संयोजक डा युवराज घिमिरेको धन्यवाद ज्ञापनसँगै कार्यक्रम समापन भयो।
हिन्दुस्थान समाचार / बिशाल