विश्व फार्मेसी दिवस तथा राष्ट्रिय फार्मेसी सप्ताह २०२६ को महिनाव्यापी अभियान शुरू
राजनीतिक सचिव बिकास बस्नेत


गान्तोक, 30 सेप्टेम्बर (हि.स.)। विश्व फार्मेसी दिवस तथा राष्ट्रिय फार्मेसी सप्ताह २०२६ को अवसरमा सिक्किम फार्मेसी काउन्सिल (एसपीसी) द्वारा आयोजित महिनाव्यापी राज्यस्तरीय जनचेतनामूलक अभियान बुधबार राजधानीमा औपचारिक रूपमा शुभारम्भ भएको छ। कार्यक्रमकी प्रमुख अतिथि सिक्किम विधानसभाकी उपाध्याक्ष राजकुमारी थापाले अभियानको औपचारिक उद्घाटन गरिन्।

यस अभियान मार्फत औषधिको विवेकपूर्ण प्रयोग तथा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा गान्तोकका विधायक दिले नामग्याल बर्फुङपा तथा मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

आफ्नो उद्घाटन सम्बोधनमा उपाध्याक्ष राजकुमारी थापाले एन्टिमाइक्रोबियल रेजिस्टेन्सजस्तो महत्वपूर्ण विषयमा केन्द्रित महिनाव्यापी अभियान सञ्चालन गरेकोमा सिक्किम फार्मेसी काउन्सिलको प्रशंसा गर्दै औषधिको विवेकपूर्ण प्रयोगबारे सर्वसाधारणलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याइमन्। उनले केमिस्ट तथा फार्मासिस्ट संघलाई ग्रामीण क्षेत्रसम्म पनि जनचेतनामूलक कार्यक्रम विस्तार गर्न आग्रह गरिन्।

फार्मासिस्ट तथा फार्मेसीका विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले जनस्वास्थ्य संरक्षण र एएमआर विरुद्धको अभियानमा अग्रदूतको भूमिका निर्वाह गर्न आग्रह गरिन्। राज्य सरकारले स्वास्थ्य क्षेत्रमा जनशक्ति विस्तारलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै उनले राज्यका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा हालसम्म १५० भन्दा बढी फार्मासिस्ट नियुक्त भइसकेको जानकारी दिइन्। साथै, सिक्किमका शैक्षिक संस्थाहरूमा व्यावसायिक फार्मेसी पाठ्यक्रम सञ्चालनका लागि नीतिगत सहयोग भइरहेको बताइन्।

विशिष्ट अतिथि बिकास बस्नेतले आधुनिक फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको बताए। उनले एन्टिबायोटिकका चिकित्सकीय फाइदासँगै यसको गलत प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिमबारे जनचेतना फैलाउन फार्मेसी क्षेत्रले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले फार्मेसीका विद्यार्थीहरूलाई सामाजिक सञ्जालको रचनात्मक प्रयोग गर्दै जनचेतना फैलाउन आग्रह गरे।

महिनाव्यापी अभियान अन्तर्गत जनचेतनामूलक सडक नाटक, सामाजिक सञ्जाल रील्स तथा राज्यव्यापी विद्यार्थी प्रतियोगिताहरू आयोजना गरिनेछन्। प्रतियोगिता अन्तर्गत शैक्षिक पर्चा डिजाइन, फार्मा क्विज, वैज्ञानिक पोस्टर प्रस्तुति तथा एससी आईटी ओओ एनएस (वैज्ञानिक कार्टुन) लगायतका गतिविधि सञ्चालन हुने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande