
काठमाडौँ, ६ सेप्टेम्बर (हि.स.)। नेपालमा बाढी र पैह्रोपछि हैजा फैलिने जोखिमलाई ध्यानमा राख्दै रसुवामा हैजा विरुद्धको खोपको २१ हजार डोज पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सहयोगमा प्राप्त यी खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम कम गर्न औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनुका साथै रोगको निगरानी बढाउने, सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिने र आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम स
शुरु गरिएको छ।
उल्लेखनीय छ, बाढीका कारण खानेपानीका स्रोत तथा वितरण प्रणालीमा क्षति पुगेको छ। यसले हैजालगायत अन्य पानीजन्य रोगको जोखिम बढाएको छ। त्यसलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान र समयमै उपचारको व्यवस्था गर्न प्राथमिकता दिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल