अमेरिकाको मियामी विमानस्थलमा कार्गो विमान दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु
अमेजन का मालवाहक (कार्गो) विमान। फोटो - इंटरनेट मीडिया


वासिङ्टन, 0७ सेप्टेम्बर (हि.स.)। अमेरिकाको मियामी अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको एउटा मालवाहक (कार्गो) विमान रनवेबाट बाहिरिएर खेतमा पुगेपछि दुर्घटनाग्रस्त भएको छ। विमानले धेरै वटा सवारीसाधनलाई ठक्कर दिएपछि आगलागी भएको थियो। अधिकारीहरूका अनुसार, दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। अन्य दुई जनालाई पनि अस्पताल भर्ना गरिएको छ।

अधिकारीहरूले बताएअनुसार, स्थानीय समयअनुसार दिउँसो करिब २ बजी कार्गो विमान रनवेबाट बाहिरिएको थियो। उक्त विमान प्युर्टो रिकोको सान जुआनबाट मियामी आएको थियो। दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू विमानमा सवार थिए वा विमानले ठक्कर दिएका सवारीसाधनमा थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

दुर्घटनापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो। मियामी-डेड रेस्क्यु फायरका प्रमुख रे जदल्लाहले विमानको ककपिटमा पाइलट र सह-पाइलट फसेको बताए। केही मानिस कारभित्र पनि फसेका थिए भने एक जना व्यक्ति सवारीसाधनमुनि थिचिएका थिए।

दुर्घटनापछि मियामी विमानस्थलमा करिब तीन घण्टासम्म उडान सञ्चालन रोकिएको थियो। विमानबाट इन्धनसमेत चुहिएको थियो। चुहावट नियन्त्रण गर्न दुर्घटनाको केही घण्टापछि पनि दमकलकर्मीहरू खटिएका थिए। दुर्घटनापछि प्राइम एयरको उक्त विमान सडकको छेउमा पुगेर रोकिएको थियो, जहाँ दुई वटा ठूला ट्रक पनि पार्क गरिएका थिए। घटनास्थलका तस्बिरहरूमा विमान पेटको भागमा पल्टिएको अवस्थामा देखिएको छ। आगलागी भए पनि विमानको अधिकांश भाग सुरक्षित रहेको जनाइएको छ।

दुर्घटनामा परेको विमान ३२ वर्ष पुरानो बोइङ ७६७ थियो। यसलाई शुरुमा यात्रु ओसारपसारका लागि निर्माण गरिएको थियो। दुई दशकभन्दा बढी समयसम्म विभिन्न एयरलाइन्सका लागि उडान भरेपछि सन् २०१५ मा यसलाई कार्गो विमानमा रूपान्तरण गरिएको थियो। उक्त उडान नर्थ क्यारोलिनास्थित कार्गो कम्पनी २१ एयरले सञ्चालन गरेको थियो।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार, आइतबार दिउँसोपछि विमानस्थलमा करिब २५० वटा उडान ढिला भएका थिए। राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले दुर्घटनाको अनुसन्धानका लागि आफ्नो टोली मियामी पठाउने जनाएको छ। टोलीको नेतृत्व एनटीएसबीकी अध्यक्ष जेनिफर होमेन्डीले गर्नेछिन्।

अमेजनकी प्रवक्ता केली नेन्टेलले कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताइन्। अमेजनले दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, आफन्त तथा दुर्घटनाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande