
गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। सरस्वती विद्या निकेतन, आरिटारमा विद्यार्थीहरूलाई आगलागीबाट बच्ने उपाय, रोकथाम तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने उद्देश्यले अग्नि सुरक्षा सचेतना कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा विद्यार्थीहरूले दमकल तथा त्यसमा जडित अग्निनियन्त्रण उपकरणहरूको अवलोकन गरेका थिए। अग्नि सुरक्षा कर्मचारीले फायर होज, पानीको दबाउ प्रणाली, नोजल, भल्भ, गेजलगायत उपकरणको प्रयोग र कार्यप्रणालीबारे जानकारी दिएका थिए।
विद्यार्थीहरूलाई आगलागीको समयमा नआत्तिने, जिम्मेवार व्यक्ति वा आपतकालीन सेवामा जानकारी गराउने, सुरक्षित रूपमा बाहिर निस्कने तथा उचित तालिमबिना आगो नियन्त्रण गर्ने प्रयास नगर्न सुझाउ दिइएको थियो।
व्यावहारिक प्रदर्शनसहितको कार्यक्रमले विद्यार्थीहरूमा अग्नि सुरक्षा, आपतकालीन तयारी र जिम्मेवारीबोधसम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल