फकिराग्राममा डा. भूपेन हजारिकाको जयन्ती मनाइयो
फकिराग्राममा डा. भूपेन हजारिकाको जयन्ती मनाइयो


कोकराझार (असम), 09 सेप्टेम्बर (हि.स.)। सम्पूर्ण राज्य सहित कोकराझार जिल्लाको फकिराग्राममा पनि भारत रत्न डा. भूपेन हजारिकाको जयन्ती श्रद्धा अनि सांस्कृतिक कार्यक्रमहरूको साथमा मनाइयो। फकिराग्रामस्थित शहीद वेदी परिसरमा गए सोमवार अबेर साँझ फकिराग्राम स्वर्ण शाखा साहित्य सभा एवं फकिराग्राम कला-संस्कृति विकास मञ्चको संयुक्त तत्वावधानमा तथा भारत रत्न डा. भूपेन हजारिका जन्म शताब्दी समारोह समितिको आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको शुभारम्भ कोकराझार जिल्ला साहित्य सभाका पूर्व अध्यक्ष खनिन चन्द्र राय एवं फकिराग्राम स्वर्ण शाखा साहित्य सभाका अध्यक्ष पीयूष चौधरीको बाहुलीबाट दीप प्रज्वलनको साथमा गरियो। त्यसपछि कोकराझार जिल्ला साहित्य सभाका पूर्व सचिव कृष्ण चन्द्र नाथ एवं फकिराग्राम कला-संस्कृति विकास मञ्चका पूर्व अध्यक्ष तथा सचिव ध्रुव कुमार मेधीले डा. भूपेन हजारिकाको चित्रमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

श्रद्धाञ्जली कार्यक्रममा जन्म शताब्दी समारोह समितिका सचिव कनक सूत्रधर, फकिराग्राम महाविद्यालयका एसोसिएट प्रोफेसर डा. आदित्य चन्द्र डेका, डा. अनवारुल इस्लाम तथा फकिराग्राम बालिका मध्य अङ्ग्रेजी विद्यालयकी पूर्व प्रधानाध्यापिका अनिमा देवीले पनि सुधाकण्ठ डा. भूपेन हजारिकालाई श्रद्धाञ्जली दिए।

यस अवसरमा फकिराग्राम आञ्चलिक छात्र सङ्घका महासचिव दिपुनजीत नारायण देव एवं फकिराग्राम महाविद्यालयका सहायक प्रोफेसर डा. मनोरञ्जन रायले शहीद वेदीमा दीप प्रज्वलित गरे। कार्यक्रममा छावामारी पारिजात नाम दलद्वारा नाम-कीर्तन पनि प्रस्तुत गरियो।

कार्यक्रममा फकिराग्राम स्वर्ण शाखा साहित्य सभा, फकिराग्राम कला-संस्कृति विकास मञ्च तथा जन्म शताब्दी समारोह समितिका पदाधिकारी एवं सदस्य उपस्थित थिए। वक्ताहरूले डा. भूपेन हजारिकाको सङ्गीत, मानवतावादी विचार एवं सामाजिक एकताको सन्देशलाई नयाँ पिँढ़ीसम्म पुऱ्याउने आवश्यकतामाथि बल दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande