उत्तर 24 परगना, 12 अक्टोबर (हि. स.)। सोशल मीडियामा भीडियो तथा रिल बनाउने नाममा नाबालिक युवतीको गुप्त तस्वीरहरू कैद गरेर ब्ल्याकमेलिंग र बलात्कार गरेको आरोपमा उत्तर 24 परगना जिल्लाको बशिरहाटको हरोआ थानाको पुलिसले आइतवार एकजना यूट्यूबर र उसको नाबालिक छोरालाई पक्राउ गऱ्यो। जानकारी अनुसार नाबालिक पीड़िताका पिता कोलकाता पुलिसमा कार्यरत छन्।
आरोप छ, हरोआ थाना अन्तर्गत मोहनपुर निवासी यूट्यूबर अरविन्द मण्डल र उसको नाबालिक छोराले केही महिनाअघि युवतीलाई भीडियो अनि रिल बनाउने नाममा बोलाएका थिए। भीडियो बनाउने नाममा युवतीलाई भिन्न-भिन्न ठाउँमा लिएर पनि गयो। युवतीको परिवारले छिमेकी भएको नातामा यसमा कुनै आपत्ति जनाएन। तर यूट्यूबरले फैलाएको जालको बारेमा शुरूमा कसैलाई थाहा भएन। भीडियो बनाउनको साथै नाबालिकका केही गुप्त तस्वीर अनि भीडियोहरू उलाई जानकारी नदिई कैद गरियो। त्यसै तस्वीर अनि भीडियोहरूलाई देखाएर आरोपीहरूले ब्ल्याकमेलिंग शुरू गरे।
आरोप छ, अरविन्द र उसको नाबालिक छोराले युवतीसित बलात्कार पनि गरे। उनीहरूले धम्की दिए, यदि उसले कसैलाई बतायो भने तस्वीर तथा भीडियोहरूलाई सोशल मीडियामा भाइरल गरिदिनेछ। नाबालिकले डरले मुख खोलिन। उसित कैयौं पटक बलात्कार गरियो। अन्ततः गत शुक्रवार पीड़िताले सबै कुरा आफ्नो परिवारलाई बताई। परिवारले हरोआ थानामा पिता-पुत्रविरूद्ध लिखित सिकायत दर्ता गरायो। त्यसपछि आइतवार बिहान अरविन्द मण्डल र नाबालिक छोरालाई पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा