केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न


गान्तोक, 12 अक्टोबर ​(हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहको आगामी सिक्किम भ्रमणलाई ध्यानमा राख्दै सत्तारुढ़ एसकेएम पार्टीको रिनाकमा आज पाकिम जिल्ला कमिटीको एक समन्वय बैठक सम्पन्न भयो। एसकेएम पार्टीका सेक्रेटरी जनरल एवं मन्त्री अरुण उप्रेतीको अध्यक्षतामा आयोजित बैठकमा मन्त्री पुरण कुमार गुरुङ, मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा, राजनीतिक सचिव बिकास बस्नेत, उपमेयर छिरिङ पाल्देन भोटिया, जिल्ला अध्यक्ष लाडेनला भोटिया, जिल्ला उपाध्यक्ष प्रभा प्रधान तथा अन्य गणमान्य व्यक्तिहरू र पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

एसकेएम पार्टीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, केन्द्रिय गृहमन्त्री अमित शाह सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठ समारोहमा सहभागी बन्न 25 अक्टोबर, 2025 का दिन सिक्किम आउनेछन्। गृहमन्त्री शाह छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत रिनाक उच्चतर माध्यमिक विद्यालयमा आयोजना गरिने कार्यक्रममा सहभागी बन्नेछन्। यस अवसरमा उनले भाइब्रेन्ट भिलेज पहल अन्तर्गत कार्यक्रमलाई सम्बोधित पनि गर्नेछन्।

तयारी बैठकको क्रममा कार्यक्रमको भव्य सफलता सुनिश्चित गर्न स्वयंसेवक व्यवस्थापन, जनसहभागिता, रसद र समग्र समन्वयका बारेमा छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले केन्द्रिय गृहमन्त्रीको ऐतिहासिक भ्रमणको लागि छुजाचेनलाई एक कार्यक्रम स्थल चयन गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरे। उनले सबै हितधारकहरूबाट पूर्ण सहकार्यको आश्वासन दिॅंदै कार्यक्रमलाई सफल बनाउन सबै सदस्यहरूमा एकताको लागि आह्वान गरे।

सभाध्यक्ष मन्त्री उप्रेतीले केन्द्रिय गृहमन्त्रीको भ्रमण सिक्किमको लागि गर्वको क्षण रहेको बताउॅंदै यसले मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्र सरकारबीचको बलियो सम्बन्धलाई दर्साउॅंछ भनी बताए। उनले अमित शाहको भ्रमण सिक्किमको इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गा रहेको बताउॅंदै उनको भ्रमणले राज्यलाई धेरै फाइदा पुग्ने बताए।

मन्त्री उप्रेतीले पार्टी कार्यकर्ताहरूलाई पूर्ण समर्थनको लागि आह्वान गर्दै केन्द्रिय गृहमन्त्रीलाई भव्य स्वागत जनाउन सम्बन्धित विभागहरूबीच समन्वयमाथि जोड दिए। बैठकमा मन्त्रीले तयारीको व्यक्तिगत रूपमा समीक्षा पनि गरेका थिए। बैठकमा आगामी भ्रमणलाई भव्य र ऐतिहासिक सफल बनाउने सर्वसम्मत प्रस्ताव पारित गरिएको विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande