गान्तोक, 12 अक्टोबर (हि.स.)। सिक्किम सरकारको यातायात विभागले सार्वजनिक यातायातका सवारी साधनहरूमा 'जनावरहरूप्रति दयालु बनौं' (Be Kind to Animals) को स्लोगन लेख्नुपर्ने आदेश जारी गरेको छ। विभागले सबै सार्वजनिक यातायातका सवारी साधन अपरेटरहरू र मालिकहरूलाई तत्काल उक्त आदेशको कार्यान्वयन सुनिश्चित गर्न निर्देश दिएको छ।
राज्य यातायात विभागका आयुक्त एवं सचिवद्वारा आज जारी गरिएको एक अधिसूचनामा भारत सरकारको सडक परिवहन एवं राजमार्ग मन्त्रालयको आदेशलाई पालन गर्दै सिक्किम सरकारले राज्यमा पञ्जीकृत सार्वजनिक यातायातका सवारी साधनहरूमा स्लोगन 'जनावरहरूप्रति दयालु बनौं' लेख्न निर्देश दिइएको छ। उक्त स्लोगन सवारी साधनहरूको अगाडि र पछाडिपट्टि प्रमुखताका साथ प्रदर्शित गर्नुपर्ने बताइएको छ। स्लोगन हिन्दी, अङ्ग्रेजी अथवा उपयुक्त क्षेत्रीय भाषामा लेख्न सकिने पनि जनाइएको छ।
स्लोगन ठूला अक्षरहरूमा स्पष्ट देखिने गरि लेख्नुपर्ने कुरा पनि अधिसूचनामा उल्लेख छ। यसैगरी, न्यूनतम वर्णहरूको उचाई 15 सेण्टिमिटर हुनुपर्नेछ भने टिकाउ रंग अथवा मौसम प्रतिरोधी स्टिकर प्रयोग गर्नुपर्ने बताइएको छ।
सम्बन्धित प्राधिकरणले आदेशको पालन सुनिश्चित गर्न कडाईका साथ निगरानी राख्ने पनि अधिसूचनामा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल