गान्तोक, 12 अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आफ्नो स्थापनाको शताब्दी वर्ष (1925-2025) पालन गरिरहेको छ। शताब्दी वर्ष अन्तर्गत हालैमा विजय दशमीको शुभ अवसरमा संघले एक वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ, जुन आगामी वर्ष 2026 को विजय दशमीसम्म चल्नेछ। यस अवधि संघद्वारा निर्धारित कार्यक्रमहरू देशव्यापीरूपमा आयोजना गरिने छन्।
यसै क्रममा सिक्किममा पनि संघ शताब्दी वर्ष पालन शुरू गरिएको छ। राजधानीमा आज पथ सञ्चलनको आयोजनसॅंगै वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ। यहॉंको जिरो पोइन्टबाट शुरू भएको पथ सञ्चलन टीएन जंकशन, एमएलए होस्टेल, पुरानो सदर थाना हुॅंदै ठाकुरबाडी मन्दिरमा आइपुगेर समापन भयो। आरएसएस गान्तोक जिल्लाले आयोजना गरेको यस पथ सञ्चलनमा गान्तोक जिल्ला स्वयंसेवकहरू गणवेशमा सहभागी बनेका थिए।
पथ सञ्चलन ठाकुरबाडी मन्दिरमा आइपुगेर एक कार्यक्रममा परिणत बन्यो। कार्यक्रममा आरएसएसको उत्तर बंग एवं सिक्किमका सह विभाग कार्यवाह विश्वरूप कुण्डू, विभाग सहकार्यवाह दयाराम भट्टराई, विभाग प्रचारक नन्दन कुमार तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित उत्तर बंग एवं सिक्किमका सह विभाग कार्यवाह विश्वरूप कुण्डूले आरएसएसको इतिहासमाथि प्रकाश पार्दै डा. केशव बलिराम हेडगेवारले 1925 सालमा नागपुरमा विजय दशमीको शुभ अवसरमा आरएसएसको स्थापना गरेको बताए। उनले एक सय वर्षको अन्तरालमा आज देशका हरेक राज्य अनि हरेक जिल्लाका साथै विश्वका 42 वटा देशहरूमा संघ कार्य चलिरहेको जानकारी गराए। उनले संघको मुख्य कार्य भनेको व्यक्ति निर्माण र व्यक्ति निर्माणद्वारा देश निर्माण गर्नु रहेको बताए।
उनले देश स्वतन्त्र भएपछि संघ देशको पुनर्गठन कार्यमा लागिपरेको अवगत गराउॅंदै संघ भारत देशलाई विश्व गुरु बनाउन चाहन्छ भनी बताए। उनले भने, आफ्नो राज्य अनि देश निर्माणको कार्य सोही देश अनि राज्यका नागरिकहरूले गर्नुपर्छ। संघले आफ्नो राज्य अनि देश निर्माणको लागि नागरिकहरू तयार गर्ने काम गर्दछ। उनले आरएसएसको परिभाषा स्पष्ट गर्दै भने, सुसंस्कारित हिन्दू नै आरएसएस हुन्।
यस अघि विभाग सहकार्यवाह दयाराम भट्टराईले 1925 सालमा स्थापना भएको आरएसएस आज ठूलो वटवृक्ष बनेको बताए। संघले आफ्नो स्थापनाको सय पूरा गर्नु सबैका लागि गर्वबोधको कुरा रहेको उनले बताए। उनले देशमा मात्र नभई संघ कार्य आज विदेशहरूमा पनि चलिरहेको छ भने। उनले संघ भारत मातालाई परमवैभवशाली बनाउन निरन्तर लागिपरेको बताए।
यसैगरी, विभाग प्रचारक नन्दन कुमारले गए विजय दशमीमा संघ एक वर्ष पुगेको बताउॅंदै शताब्दी वर्ष अन्तर्गत वर्षव्यापीरूपमा कार्यक्रमहरू चल्ने जानकारी गराए। उनले आज पहिलो कार्यक्रम सम्पन्न भएको र दोस्रो कार्यक्रम आगामी 9 नोभेम्बरका दिन हुने अवगत गराए। उनले यस वर्षव्यापी कार्यक्रम अन्तर्गत नागरिक सङ्गोष्ठी, सामाजिक सद्भाव कार्यक्रम, सम्पर्क अभियान, युवा सम्मेलन, हिन्दू सम्मेलन आदि कार्यक्रमहरू सम्पन्न गरिने छन् भनी बताए। उनले आगामी दिसम्बर महिनामा आरएसएस सरसंघचालक मोहन भागवतको सिलगढ़ीमा मार्गदर्शन प्राप्त हुने पनि जानकारी गराए।
आज पाकिम जिल्लामा पनि पथ सञ्चलन सम्पन्न गरिएको जानकारी विभाग सहकार्यवाह दयाराम भट्टराईले दिएका छन्। उत्तर बंग एवं सिक्किमका सह विभाग कार्यवाह विश्वरूप कुण्डू र विभाग प्रचारक नन्दन कुमारको मार्गदर्शनमा आयोजित पथ सञ्चलनमा पाकिम जिल्लाका स्वयंसेवकहरू सहभागी बनेका थिए।
हिन्दुस्थान समाचार / बिशाल