अब घरबसेरै विश्वभरका भक्तजन दीप प्रज्वलनमा सहभागी हुन सक्नेछन्: पर्यटन मन्त्री
लखनऊ, १३ अक्टोबर (हि.स.)। भगवान् श्रीरामको पवित्र नगरी अयोध्या पुनः दिव्यता र भक्तिभावको उज्यालोमा झलमलाउन तयार हुँदैछ। दीपोत्सव–२०२५ को भव्य तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष २६ लाखभन्दा बढी दीप प्रज्वलन र २१०० श्रद्धालुहरूको सामूहिक महाआरतीमार्फत दुई नयाँ विश्व कीर्तिमान स्थापित गरिनेछ। यस ऐतिहासिक क्षणको साक्षी देश–विदेशका करोडौँ भक्तहरू बन्नेछन्।
जो श्रद्धालु प्रत्यक्ष रूपमा प्रकाश पर्वमा सहभागी हुन सक्दैनन्, तिनका लागि श्री अयोध्याजी तीर्थ विकास परिषदले भावनात्मक रूपमा जोड्ने डिजिटल अभियान ‘एक दियो रामका नाम’ सुरु गरेको छ। यो जानकारी उत्तर प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री जयवीर सिंहले सोमबार दिएका हुन्।
पर्यटन मन्त्रीले भने, ‘एक दियो रामका नाम’ अभियान अन्तर्गत श्रद्धालुहरू अनलाइन माध्यमबाट दर्ता गरी भर्चुअल रूपमा दीप प्रज्वलन गर्न सक्छन् र प्रभु श्रीरामप्रति आफ्नो श्रद्धा अर्पण गर्न सक्छन्। साथै, आफ्ना प्रियजनहरूका लागि मंगलकामना सन्देश पनि पठाउन सकिन्छ। जयवीर सिंहले भने, “अयोध्या दीपोत्सव अहिले विश्वस्तरमा मानिसहरूलाई जोड्ने एउटा सांस्कृतिक सेतु बनेको छ। ‘एक दियो रामका नाम’ जस्ता अभियानहरूले यसलाई अझ समावेशी र विश्वव्यापी बनाएको छ।”
दुनियाभरबाट गर्न सकिने दीप प्रज्वलन
पर्यटन मन्त्रीले बताएअनुसार, श्रीरामजन्मभूमि प्राण प्रतिष्ठापछि अयोध्या आउने श्रद्धालुहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। धेरै भक्तहरू सहभागी हुन चाहन्छन्, त्यसैले ‘दिव्य अयोध्या’ मोबाइल एपमार्फत विश्वभरबाट डिजिटल दीप प्रज्वलनको व्यवस्था गरिएको हो।
‘राम ज्योति’ प्याकेज
दिव्य अयोध्या एपमा श्रद्धालुहरूका लागि तीन प्रकारका प्याकेज उपलब्ध छन्। सबैभन्दा प्रमुख प्याकेज ‘राम ज्योति’ (₹2100) हो, जुन ‘एक दियो रामका नाम’ अभियान अन्तर्गत सर्वश्रेष्ठ संकल्प मानिन्छ। यसमा रोली, सरयू जल (पीतलको लोटामा), अयोध्या रज, रामदाना, मिश्री, रक्षा सूत्र, हनुमानगढीका लड्डु र चरण पादुका (खडाऊ) जस्ता आठ पवित्र वस्तुहरू समावेश छन्। अनलाइन संकल्प पूरा गरेपछि यो पवित्र प्रसाद सीधा घरसम्म पठाइनेछ।
‘सीता ज्योति’ र ‘लक्ष्मण ज्योति’ प्याकेज
भक्तहरूका लागि ‘सीता ज्योति’ (₹1100) प्याकेजमा रोली, सरयू जल, रामदाना, रक्षा सूत्र र हनुमानगढीका लड्डु रहेका छन्।
त्यस्तै, ‘लक्ष्मण ज्योति’ (₹501) प्याकेज भगवान् रामका भाइ लक्ष्मणको पराक्रम र सेवा भावनालाई समर्पित छ। यसमा रोली, अयोध्या रज, रामदाना, रक्षा सूत्र र मिश्री रहेका छन्। भक्तहरूले अनलाइन संकल्प लिएर यी प्याकेजहरू घरमै प्राप्त गर्न सक्छन् र दीपोत्सव–२०२५ मा आध्यात्मिक रूपमा सहभागी हुन सक्छन्।
‘दिव्य अयोध्या’ मोबाइल एप किन विशेष छ
‘दिव्य अयोध्या’ एक पर्यटन–आधारित मोबाइल एप र वेब पोर्टल हो, जसले अयोध्या आउने तीर्थयात्री र पर्यटकहरूलाई मद्दत गर्छ। यसमार्फत प्रयोगकर्ताले धार्मिक स्थल, भ्रमण जानकारी, होटल वा होमस्टे बुकिङ, गाइडेड टुर, ट्याक्सी सेवा लगायत सबै सुविधा एकै प्लेटफर्ममा पाउँछन्। यो एप होमस्टे योजना अन्तर्गत विकसित गरिएको हो, जसको उद्देश्य अयोध्या भ्रमणको अनुभवलाई अझ उत्कृष्ट र सहज बनाउनु हो।
भक्तहरूले यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्छन्। इच्छुक श्रद्धालुहरूले www.divyaayodhya.com/bookdiyaprashad मार्फत पनि यस अभियानमा सहभागी भई सेवाहरू प्राप्त गर्न सक्छन्।
-------------
हिन्दुस्थान समाचार / भवानी थामी