मंगोलियाका राष्ट्रपतिको भारत भ्रमणबीच कांग्रेस पार्टीले लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्नुपर्ने माग पुनः दोहोर्यायो
मंगोलियाका राष्ट्रपतिको भारत भ्रमणबीच कांग्रेस पार्टीले लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्नुपर्ने माग पुनः दोहोर्यायो


नयाॅं दिल्ली, १३ अक्टोबर (हि.स.)। मंगोलियाका राष्ट्रपति खुरेलसुख उखनाको चारदिने भारत भ्रमणको बीचमा कांग्रेस पार्टीले लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्नुपर्ने माग पुनः दोहोर्याएको छ। कांग्रेसका महासचिव जयराम रमेशले सन् १९९० देखि २००० सम्म मंगोलियामा भारतका राजदूत रहेका, प्रसिद्ध बौद्ध भिक्षु तथा लद्दाखका सम्मानित नेता १९औं कुशोक बकुला रिम्पोछेको योगदानलाई पनि स्मरण गरे।

जयराम रमेशले सोमबार आफ्नो एक पोस्टमा लेखे, “आज मंगोलियाका राष्ट्रपति भारत भ्रमणमा छन्, र यो अवसरले हामीलाई त्यो ऐतिहासिक भूमिकाको सम्झना गराउँछ जुन भारत, विशेषगरी लद्दाखका कुशोक बकुला रिम्पोछेले भारत–मंगोलिया सम्बन्ध सुदृढ बनाउन निभाउनुभएको थियो।”

कांग्रेस महासचिवका अनुसार, कुशोक बकुला रिम्पोछेलाई सन् १९८९ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले मंगोलियामा भारतका राजदूतको रूपमा नियुक्त गरेका थिए। जनवरी १९९० मा पदभार ग्रहण गरेपछि उनले लगातार दश वर्षसम्म यो पदमा सेवा गरे, जुन एक असामान्य कार्यकाल मानिन्छ। साम्यवाद पतनपछि मंगोलियामा बौद्ध धर्मको पुनर्जागरणमा उनको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताइन्छ।

जयराम रमेशले थपे, “कुशोक बकुला रिम्पोछेले केवल मंगोलियामै होइन, भारत र पूर्व सोभियत संघमा पनि बौद्ध धर्मको पुनरुत्थानमा उल्लेखनीय भूमिका खेलेका थिए। आज पनि मंगोलियामा उनीप्रति अत्यन्त श्रद्धा र सम्मान प्रकट गरिन्छ।” उनले याद दिलाए, १० जून, २००५ मा तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले लेह विमानस्थलको नाम परिवर्तन गरी ‘कुशोक बकुला रिम्पोछे विमानस्थल’ राखेका थिए र उनलाई “आधुनिक लद्दाखका शिल्पकार” पनि भनेका थिए।

कांग्रेस नेताले भने, “लद्दाख अहिले उपचारको प्रतीक्षामा छ।” उनले याद दिलाए कि सन् २०२० को हिल काउन्सिल चुनाउको घोषणापत्रमा भाजपाले लद्दाखलाई संविधानको छैटौं अनुसूची अन्तर्गत संवैधानिक सुरक्षा दिने वाचा गरेको थियो, तर अहिले सत्तामा रहँदा पनि त्यो वाचा पूरा गर्न असफल भएको छ।

उल्लेखनीय छ, भारत र मंगोलियाबीच राजनयिक सम्बन्ध दिसम्बर १९५५ मा स्थापना भएको थियो। भारतले अक्टोबर १९६१ मा मंगोलियालाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। कुशोक बकुला रिम्पोछे (१९१७–२००३) तिब्बती बौद्ध परम्पराअनुसार १९औं बकुला रिम्पोछेको रूपमा मान्यता प्राप्त थिए। उनले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए र पछि राजनीति तथा कूटनीतिमा पनि उल्लेखनीय योगदान दिएका थिए। सन् १९८९ मा उनी मंगोलियामा भारतका राजदूत नियुक्त भएका थिए, जहाँ उनले बौद्ध धर्मको पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेले।

-------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande