नागपुर, ०२ अक्टोबर (हि.स.)। पूर्व राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा कुनै पनि प्रकारको अस्पृश्यता वा जातिगत छुवाछूत छैन भनी बताएका छन्। उनका अनुसार, संघमा कुनै जातिगत भेदभाव हुँदैन।
पूर्व राष्ट्रपति कोविन्दले आज नागपुरको रेशिमबाग मैदानमा आयोजित संघको स्थापना शताब्दी वर्षको विजयादशमी उत्सवलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उक्त कुरा भनेका हुन्। यस अवसरमा संघ प्रमुख डा. मोहन भागवत र नागपुर महानगरका संघचालक राजेश लोया पनि उपस्थित थिए।
पूर्व राष्ट्रपति कोविन्दले भने,
“संघको विचारधारा र स्वयंसेवकहरूसँग भेट्ने अवसर मलाई १९९१ को आम निर्वाचनका क्रममा मिल्यो। त्यस चुनाव अभियानमा समाजका विभिन्न वर्गहरूसँग भेटघाट गर्ने अवसर पाएको थिएँ। आज पनि समाजका धेरैलाई यो जानकारी छैन कि संघमा कुनै पनि प्रकारको अस्पृश्यता वा जातिगत छुवाछूत हुँदैन। संघमा जातिगत भेदभाव छैन।
यस प्रसंगमा म सन् २००१ मा लालकिल्ला परिसरमा आयोजित दलित संगम र्यालीको उल्लेख गर्न चाहन्छु। त्यतिबेला केहीले अटलजीलाई दलित विरोधी भनेर दुष्प्रचार गर्थे। तर अटलजीले भनेका थिए– ‘हामी अम्बेडकरवादी हौँ। भीम स्मृति अर्थात भारतको संविधान। हाम्रो सरकार मनु स्मृतिका आधारमा होइन, भीम स्मृति अर्थात भरतको संविधानका आधारमा चल्नेछ। राष्ट्रपति पदमा रहँदा मैले सधैँ संवैधानिक मूल्यहरूलाई, बाबासाहेबका मूल्यहरूलाई, प्राथमिकता दिएँ।”
पूर्व राष्ट्रपति कोविन्दले भने,
“सबैलाई विजयादशमीको हार्दिक शुभकामना। यो सुखद संयोग हो कि आज महात्मा गान्धी र लालबहादुर शास्त्रीजीको जन्मजयन्ती पनि हो। यस अवसरमा म उनीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्छु। सबैभन्दा ठूलो स्वयंसेवी संस्थाको शताब्दी समारोह सम्पन्न भइरहेको छ। मलाई बाबा साहेबको दीक्षाभूमि अवलोकन गर्ने सौभाग्य मिल्यो। डा. हेडगेवार, श्रीगुरुजी र रज्जु भैयाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्छु। डा. हेडगेवारले संगठनको बिरुवा रोप्नुभयो, गुरुजीले त्यसलाई जरासहित मजबुत बनाइदिनुभयो र रज्जु भैयाले आर्थिक परिवर्तनका बीच संघलाई मार्गदर्शन दिनुभयो।”
यस अवसरमा संघ प्रमुख डा. मोहन भागवतले भने, “यो वर्ष श्री गुरु तेग बहादुरको बलिदानको ३५०औँ वर्ष हो। ‘हिन्दकी चादर’ बनेर जसले अन्यायबाट समाजलाई मुक्ति दिलाउन आफ्नो बलिदान दिनुभयो, यस्ता विभूतिको स्मरण यस वर्ष गरिनेछ। आज गान्धीजीको पनि जयन्ती हो। उनको योगदान अविस्मरणीय छ। स्वतन्त्रतापछि भारतको तन्त्र कस्तो चल्ने भन्ने बारेमा विचार दिने व्यक्तिहरूमध्ये गान्धीजीको नाम थियो।” संघ प्रमुखले यस अवसरमा पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई पनि सम्झिए।कार्यक्रमअघि पूर्व राष्ट्रपति कोविन्दले रेशिमबागस्थित स्मृति मन्दिरमा संघ संस्थापक डा. केशव बलिराम हेडगेवारलाई नमन गरे। त्यसपछि पूर्व राष्ट्रपति कोविन्द र डा. भागवतले शस्त्र पूजनमा सहभागिता जनाए।कार्यक्रममा केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलगायत अनेकौँ विशिष्ट व्यक्ति उपस्थित थिए। यस अवसरमा लेफ्टिनेन्ट जनरल राणा प्रताप कलित, दक्षिण भारतको कम्पनी डेक्कन समूह का के.भी. कार्तिक र बजाज समूह का संजीव बजाज पनि उपस्थित थिए। संघले यस उत्सवमा विदेशी अतिथिहरूलाई पनि आमन्त्रण गरेको थियो, जसमा घाना, दक्षिण अफ्रिका, इन्डोनेसिया, थाइल्याण्ड, बेलायत र अमेरिकाका गण्यमान्यहरू सहभागी थिए।उल्लेखनीय छ, संघले यस वर्ष आफ्नो स्थापना शताब्दी वर्ष मनाइरहेको छ। यस कारण संघका स्वयंसेवकहरूको लागि यो विजयादशमी उत्सव विशेष महत्त्वको बनेको छ। डा. केशव बलिराम हेडगेवारले 27 सेप्टेम्बर, 1925 का दिन नागपुरमा विजयादशमीकै दिन संघको स्थापना गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी