एनएच 110 को महानदीको पैह्रो क्षेत्रको विभिन्न विभागका अधिकारीहरुद्वारा निरीक्षण
एनएच 110 को महानदीको पैह्रो क्षेत्रको विभिन्न विभागका अधिकारीहरुद्वारा निरीक्षण


खरसाङ, 20 अक्टोबर (हि.स.)। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीको तिरसठ पाखामा रहेको पैह्रो भएर गाडीहरु कुदिरहेको अस्थायी बाटोको‌ निरीक्षण गर्नलाई आज विभिन्न विभागका पदाधिकारीहरु निरीक्षणमा आएका थिए। गत 30 जून 2024 मा गएको पैह्रोको कारणले बाधित रोड भएर गाडीहरु कुदाउन अस्थायी रुपमा बाटो बनाइएको थियो।

तर रोहिणी रोडमा पैह्रो गएर बन्द भएपछि अहिले यही रोड भएर दैनिक धेरै गाडीहरु कुदिरहेका छन्‌। यस रोडमा गत शनिवार बिहान एउटा गाडी दुर्घटनाग्रस्त भएको थियो। त्यसपछि आज रेलवे, एनएचआईडीसीएल, ट्राफिक खरसाङ महकुमा आपदा प्रबन्धन विभागका पदाधिकारीहरु निरीक्षणमा आएका थिए।

यस क्रममा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा र स्थानीय पैह्रो प्रभावित परिवारहरु आएर विभिन्न विभागका पदाधिकारीहरुसित भेट गरे। पदाधिकारीहरुले निरीक्षण गरे पनि यस बाटो विषयमा कुनै निश्चित निष्कर्ष भने ननिस्केको जानकारी प्राप्त भएको छ। यस पैह्रोमा लगभग चारवटा परिवारहरु पूर्ण रुपमा प्रभावित भएका छन्।‌ तर 16 महिना पुगेर पनि रोडको मरमत्तिको कार्य शुरु नभएको स्थानीयहरुले बताएका छन्।‌

यस निरीक्षणमा रेलवेको तर्फबाट ईञ्जिनियर सञ्जय कुमार र मनिष कुमार, एनएचआईडीसीएलबाट ईञ्जिनियर आकाश कुमार, खरसाङ महकुमा आपदा प्रबन्धन अधिकारी सुधा मुखिया, खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande