खरसाङ, 20 अक्टोबर (हि.स.)। भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनलाई लिएर खरसाङ महकुमा अन्तर्गत सिटोङमा कार्यकारिणी समितिको सभा सम्पन्न भयो। उक्त सभा स्रष्टा सङ्गमको अध्यक्ष एल्डर राजु राईको अध्यक्षतामा सम्पन्न भयो।
सभामा चर्चा परिचर्चा गरिएपछि स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन आगामी वर्ष 2026 को 30 र 31 जनवरीको दिन खरसाङ महकुमा अन्तर्गत सिटोङमा सम्पन्न हुने निर्णय लिइयो। सन् 2018 मा सिटोङबाटै शुरु भएको स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन फेरि सिटोङमा नै सम्पन्न हुने भएको छ। यसपाली दुईजना वरिष्ठ साहित्यकारहरु क्रमैले प्रेरित ध्रुव 'शिष्य' र एडना घलेलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिने भएको छ।
स्रष्टा संगमको पहिलो वार्षिक सम्मेलन खरसाङको सिटोङमा भएको थियो भने दोस्रो वार्षिक सम्मेलन पूर्व सिक्किमको रम्फूमा, तेस्रो वार्षिक सम्मेलन सिलगढीमा, चौथो गान्तोकमा र पाँचौं वार्षिक सम्मेलन कालेबुङमा भएको थियो। यसपाली छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा हुने भएको छ र यसको लागि कथाकार सन्ध्या आचार्यलाई संयोजकको रूपमा चयन गरिएको छ।
यस सभामा रेभरेन्ट डा छत्र सुब्बा पावलले लेखकहरु पनि अगुवा हुन् भन्ने विषयमा बाईबलबाट प्रेरणादायक वचन प्रचार गरेका थिए। स्रष्टा सङ्गमको सह सचिव पास्टर रुबेन राईको शुरुको प्रार्थनाद्वारा थालिएको सभामा मूल सचिव पास्टर शरण शरदले गत सभाको विवरण पठन गरेका थिए। सभामा स्रष्टा सङ्गमको संविधान विषयमा साहित्यकार सुरेश वियोगीले जानकारी गराएका थिए भने स्रष्टा सङ्गमको पञ्जीकरण विषयमा विशप रेभरेन्ट हेमन्त काँफ्लेले जानकारी गराएका थिए।
सभामा सल्लाहकार रेभरेन्ट डा छत्र सुब्बा पावल, संयोजक हनोक थापा, पास्टर ध्रुव जोना राई, एल्डर बिमल प्रधान, सचिन राई, सन्ध्या आचार्य आदि पनि उपस्थित रहेका थिए। यस सभा विषयमा स्रष्टा सङ्गमको सभापति एल्डर राजु राई र सचिव पास्टर शरण शरदले विस्तृत जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक