शास्त्रीय सङ्गीतका पुरोधा पं. छन्नूलाल मिश्र पञ्चतत्त्वमा विलीन, मणिकर्णिका घाटमा अन्त्येष्टि सम्पन्न
Channulal Mishra


—बडी गैबी आवासमा श्रद्धाञ्जली दिन व्यापक भीड

वाराणसी, ०३ अक्टोबर (हि.स.)। भारतीय शास्त्रीय सङ्गीतका पुरोधा, पद्मविभूषण पंडित छन्नूलाल मिश्रको पार्थिव शरीर विहीबार साँझ मोक्षनगरी काशीको मणिकर्णिका घाटमा पञ्चतत्त्वमा विलीन भयो। उनका नाति राहुल मिश्रले मुखाग्नि दिए। अन्त्येष्टि राजकीय सम्मानसहित सम्पन्न भयो। यस क्रममा ठूलो संख्यामा उपस्थित सङ्गीतप्रेमी, शिष्यहरू र विशिष्ट व्यक्तिहरूले उनलाई अन्तिम विदाई दिए।

विहीबार बिहान करिब साढे चार बजे मीरजापुरस्थित छोरी प्रा. नम्रता मिश्रको आवासमा पण्डित मिश्रको निधन भएको थियो, जहाँ उनी विगत तीन वर्षदेखि बसोबास गर्दै आएका थिए। उनको पार्थिव शरीर वाराणसीस्थित बडी गैबी आवासमा ल्याइयो, जहाँ सर्वसाधारणसँगै धेरै विशिष्ट व्यक्तिहरूले अन्तिम दर्शन गरी श्रद्धाञ्जली अर्पण गरे। श्रद्धाञ्जली दिनेहरूमा वाराणसीका मेयर अशोक तिवारी, पूर्व मेयर रामगोपाल मोहले, शहर दक्षिणी विधायक डा. नीलकंठ तिवारी, पिण्डरा विधायक अवधेश सिंह, भाजपा महानगर अध्यक्ष प्रदीप अग्रहरि, पूर्व एमएलसी बृजेश सिंह, कांग्रेस प्रदेश अध्यक्ष अजय राय, पुलिस कमिश्नर मोहित अग्रवाल लगायतका विशिष्ट व्यक्ति उपस्थित थिए।

आजमगढमा जन्मिएका पण्डित छन्नूलाल मिश्र बनारस घराना र किराना घराना दुवैको गायकीका अद्वितीय प्रतिनिधि थिए। ठुमरी, दादरा, चैती, कजरी र भजन गायनमा उनको विशेष पहिचान थियो। उनको विशिष्ट गायन शैलीका लागि उनलाई सन् 2000 मा सङ्गीत नाटक अकादमी पुरस्कार, 2010 मा पद्मभूषण र 2020 मा पद्मविभूषण सम्मान दिइएको थियो।

सन् 2014 को लोकसभा चुनावमा उनले वाराणसी संसदीय क्षेत्रबाट भाजपा उम्मेदवार नरेन्द्र मोदीका प्रस्तावकको भूमिका निर्वाह गरेका थिए।

उनको परिवारमा सुप्रसिद्ध तबला वादक पुत्र रामकुमार मिश्रसहित तीन छोरीहरू रहेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande