देशभरका १,४६६ पुलिस र सुरक्षा बलका जवानहरूलाई ‘केन्द्रिय गृहमन्त्री दक्षता पदक’, छत्तीसगढले पायो सबैभन्दा बढी २०० पदक
Police medal


नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। भारत सरकारले देशभरका १,४६६ पुलिस र सुरक्षा बलका कर्मीहरूलाई ‘केन्द्रिय गृहमन्त्री दक्षता पदक’ प्रदान गरेको छ। यो सम्मान विशेष अभियान, अनुसन्धान, गुप्तचर कार्य तथा फरेन्सिक विज्ञानका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई दिइएको हो।

गृहमन्त्रालयका अनुसार, विशेष अपरेशन श्रेणीमा ३९० अधिकारीहरू चयन गरिएको छ, जसमा दिल्ली पुलिसकी डीसीपी प्रतीक्षा गोडारा, सीआरपीएफका कमाण्डेन्ट देवेन्द्र सिंह कठायत, छत्तीसगढका आईजी सुन्दरराज पट्टिलिंगम र जम्मू–कश्मीरका आईजी विद्या कुमार बिर्दी रहेका छन्।

छत्तीसगढबाट सबैभन्दा बढी करिब २०० जना जवानहरू, मुख्यतया कन्स्टेबल (सीटी) स्तरका, यस पदकका लागि चयन भएका छन्। यी जवानहरूले नक्सल–विरोधी अभियानहरूमा साहस र उत्कृष्ट कार्य प्रदर्शन गरेका थिए। यस्तै, सीआरपीएफका ५० भन्दा बढी कर्मीहरूलाई आतङ्कवाद–विरोधी कार्यहरूमा उल्लेखनीय योगदानका लागि सम्मानित गरिएको छ।

मन्त्रालयका अनुसार, यो पदकको उद्देश्य उत्कृष्ट कार्यलाई प्रोत्साहन गर्नु, व्यावसायिक मापदण्डहरूलाई उच्च बनाउनु र पुलिस बलहरूको मनोबल बढाउनु हो।

उल्लेखनीय छ, यो पदक गृहमन्त्रालयले फरवरी २०२४ मा सुरु गरेको हो। यसलाई प्रत्येक वर्ष ३१ अक्टोबरमा, भारतका लौहपुरुष सरदार वल्लभभाई पटेलको जयन्तीका अवसरमा घोषणा गरिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande