अखिल सिक्किम सरकारी कर्मचारी संघको सदस्यता ग्रहण गर्ने अन्तिम मिति 15 नोभेम्बर
Govt employees election


गान्तोक, 31 अक्टोबर (हि.स.)। अखिल सिक्किम सरकारी कर्मचारी संघ (ग्रुप सी अनि डी) को कार्यकारी समितिको चुनाउलाई लिएर सदस्यता ग्रहण गर्ने मि​ति आज, 31 अक्टोबरदेखि बढाएर 15 नोभेम्बर, 2025 गरिएको छ। 15 नोभेम्भर उता सदस्यता बन्द गरिने र संघको चुनाउ मिति घोषणा गरिने बताइएको छ। समन्वय परिषदले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।

समन्वय परिषदका उपाध्यक्ष छोपेल दोर्जी भोटियाले भने, अखिल सिक्किम सरकारी कर्मचारी संघ (ग्रुप सी अनि डी) को चुनाउ आयोजनका लागि सदस्यता ग्रहण गर्ने अन्तिम मिति 31 अक्टोबर, 2025 तय गरिएको थियो। तर, सदस्यताको लागि वितरण गरिएको फारम नआइपुगेपछि सदस्यता ग्रहण गर्ने मिति बढ़ाएर 15 नोभेम्बर गरिएको हो। उनले राज्यभरि लगभग 42 हजार सदस्यता फारम वितरण भएको, तर अहिलेसम्म 6 हजार 700 जति मात्र फारम बुझाइएको जानकारी गराए।

उनले सदस्यता ग्रहण गर्न फारम लिएर जाने सबै सदस्यहरूलाई आगामी 15 नोभेम्भर दिउॅंसो 4 बजीसम्म राजधानीको इम्प्लोइज गेस्ट हाउसमा बुझाइदिन अनुरोध गरे। उनले सोही दिनदेखि सदस्यता बन्द गरिने र 16 नोभेम्बरदेखि सदस्यता फारम स्वीकार नगरिने बताए। उनले सदस्यता फारम नबुझाउनेहरूले भोटमा मतदान गर्ने अधिकार पनि पाउने छैनन् भनी बताए। उनले 15 नोभेम्बरपछि चुनाउ मिति घोषणा गरिने पनि जानकारी गराए।

पत्रकार सम्मेलनमा समन्वय परिषदका अध्यक्ष सरोज दासलगायत अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande