
खरसाङ, 31 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको उत्तर पूर्वी राज्यहरूको भ्रमण सफल भएको र समूहले उठाएको गोर्खाल्याण्डको मुद्दालाई सबैले समर्थन र सहयोग गर्ने भएको जानकारी संयोजक किशोर प्रधानले दिएका छन्।
गोर्खाल्याण्ड राज्य निर्माण विषयमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका संयोजक किशोर प्रधान अनि उनको टोलीले उत्तर पूर्वी राज्यहरूको भ्रमण साथै गोर्खाहरुको बौद्धिक समूह र विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुसित बसेर चर्चा परिचर्चा गरेका थिए। यस कर्ममा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले उत्तर पूर्वी राज्यहरूको विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र बौद्धिक व्यक्तिहरुसित भेटघाट साथै गोर्खाल्याण्ड विषयमा चर्चा परिचर्चा गरे।
भ्रमण सकेर फर्किने क्रममा भ्रमणबारे संयोजक किशोर प्रधानले एक भिडियो जारी गर्दै गोर्खाल्याण्डको माग देशव्यापी रूपमा गरिनु पर्ने अनि यसै विषयमा उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूलाई पनि अवगत गराउनु भ्रमणको उद्देश्य रहेको बताएका छन्। उनले गोर्खाल्याण्ड दार्जिलिङको मात्र नभएर देशभरि बसोबास गर्ने गोर्खाहरुको निम्ति हो र यसमा सम्पूर्ण गोर्खाहरूले प्रत्यक्ष अनि परोक्ष रूपमा साथ दिनु पर्ने विषयमा जोड दिएको बताए।
उनले भ्रमण सफल रहेको बताउँदै उत्तर पूर्वी क्षेत्रका गोर्खाहरूले आफूहरूले उठाएको विषयलाई समर्थन गर्दै सहयोग गर्ने भएको पनि प्रधानले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक