
गान्तोक, 31 अक्टोबर (हि.स.)। भारतका लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्यतीको अवसरमा आज उनको दूरदर्शी नेतृत्व र राष्ट्र एकीकरण तथा एकता र अखण्डतामा पुर्याएको योगदानको स्मरण गर्दै देशभरि नै राष्ट्रिय एकता दिवस पालन गरियो। उक्त कार्यक्रम सिक्किम राज्यले पनि गान्तोकस्थित मनन केन्द्रमा भव्य रूपमा पालन गर्यो।
कार्यक्रममा सहकारी विभाग एवम् ग्रामीण विकास विभागका मन्त्री अरुणकुमार उप्रेती मुख्य अतिथिका रूपमा उपस्थित थिए। राष्ट्रिय एकता दिवस भारतका लौह पुरुष सरदार वल्लभभाई पटेललाई स्मरण गर्दै प्रत्येक वर्ष राष्ट्रभरि श्रद्धाका साथ पालन गरिन्छ। यस दिवसले “एक भारत, श्रेष्ठ भारत” प्रतिको उनको दृष्टिकोणलाई उजागर गर्दै राष्ट्रिय एकता, अखण्डता र सुरक्षाको महत्त्वलाई दर्शाउँछ।
आफ्नो सम्बोधनमा मन्त्री उप्रेतीले सरदार वल्लभभाई पटेललाई भारतको लौह पुरुषका रूपमा स्मरण गरे। उनले पटेलको ऐतिहासिक राजनीतिक यात्राको स्मरण गर्दै राष्ट्रिय एकीकरणप्रतिको उनको योगदान र एकीकृत भारतको दृष्टिकोणलाई पनि उल्लेख गरे। यसअतिरिक्त, मन्त्री उप्रेतीले सबैलाई राष्ट्रिय एकता दिवसको शपथलाई आफ्नो व्यावहारिक जीवनमा उतार्न आग्रह गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्थापित ‘स्टाच्यु अव् युनिटी’ वा एकताको मूर्तिलाई पटेलको महान् योगदानप्रति राष्ट्रको श्रद्धाञ्जलीको प्रतीकका रूपमा वर्णन गरे।
यसअघि कार्यक्रमका स्वागत सम्बोधनमा गृह विभागका सचिव तेन्जिङ काल्योनले राष्ट्रिय एकता दिवसका महत्त्वबारे प्रकाश पार्दै यसले राष्ट्रिय एकता र अखण्डताको भावना सुदृढ पार्ने कुरा उल्लेख गरे। उनले सरदार वल्लभभाई पटेलको दूरदर्शिता र कुशल नेतृत्वको प्रशंसा गरे।
कार्यक्रममा खेलकुद तथा युवा मामिला विभागअन्तर्गत साहसिक खेल शाखाद्वारा गान्तोकमा आज बिहान आयोजना गरिएको सिक्किम युनिटी साइक्लोथनका विजेताहरूलाई मुख्य अतिथिको बाहुलीबाट प्रमाण पत्रसहित पुरस्कार वितरण गरियो।
कार्यक्रममा शिक्षा, कानुन, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत, काबी-लुङ्चोक निर्वाचन क्षेत्रका विधायक एवम् स्वास्थ्य तथा परिवार कल्याण र संस्कृति विभागका सल्लाहकार टीटी भोटिया, मल्ली निर्वाचन क्षेत्रका विधायक एवम् कृषि, पशुपालन तथा पशु चिकित्सा सेवा, मत्स्य तथा बागवानी विभागका सल्लाहकार एनबी प्रधान, जिल्ला अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, सल्लाहकारगण, अध्यक्षगण, मुख्य सचिव आर. तेलाङ, पुलिस महानिर्देशक अक्षय सचदेवालगायत अन्य विभागीय अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल