
गान्तोक, 31 अक्टोबर (हि.स.)। सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण संघको कार्यकारी समितिको बैठक आज राजधानीको सरकारी कर्मचारी गेस्ट हाउसमा संघका अध्यक्ष टाशी जी. भोटियाको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा अध्यक्ष भोटिया र महासचिव तुलसी प्रधानले संघको संविधान पूर्णरूपमा संशोधन गरिएको जानकारी गराए।
बैठकमा महासचिव प्रधान र उनको टिमलाई संविधान संशोधनको लागि गरेका कडा परिश्रमको लागि आभार व्यक्त गरियो र अध्यक्षले खादा लगाइदिएर सम्मान जनाए। बैठकमा संघको संशोधित संविधान सबै जिल्लाहरूमा उपलब्ध गराउने प्रक्रिया शुरू भएको जानकारी गराइयो। संघ अझै पनि उपयुक्त आवास प्राप्त गर्न संघर्ष गरिरहेको र यसका लागि सरकार समक्ष अनुरोध गरिएको पनि बैठकमा अवगत गराइयो।
अध्यक्ष भोटिया र महासचिव प्रधानले सदस्यहरूलाई हरेक महिना 150 रूपियॉं सदस्यता शुल्क र आजीवन सदस्यताको लागि 5000 रूपियॉं बुझाउन अनुरोध गरे। संघमा प्रवेश गर्दा 300 रूपियॉं बुझाउनु पर्ने पनि बताइयो। पारिवारिक पेन्सनभोगीहरूको लागि आजीवन शुल्क अरूको आधा 2500 रूपियॉं मात्र हुनेछ र साथमा प्रवेश शुल्क पनि बुझाउनु पर्नेछ।
बैठकमा अध्यक्ष र महासचिव बाहेक टीपी कोइराला, पुष्पलाल शर्मा, एमएन ढकाल, सोमनाथ शर्मा, सीएन खनाल र शान्ति कुमार नेपाल पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल