'सिक्किम आइडल, सिजन-2' को ग्राण्ड फिनाले 13 नोभेम्बरमा
Sikkim idol


- आगामी वर्गदेखि 'सिक्किम आइडल, सिजन-3' अन्तरराष्ट्रियस्तरमा गरिने

गान्तोक, 31 अक्टोबर (हि.स.)। गायन प्रतियोगिता 'सिक्किम आइडल, सिजन-2' को ग्राण्ड फिनाले आगामी 13 नोभेम्बर, 2025 मा रम्फू खेलमैदानमा हुने भएको छ। हाम्रो वार्ता टेलिभिजनको तत्वावधानमा आयोजना भइरहेको यस गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा जुनियर वर्गबाट पॉंच र सिनियर वर्गबाट पॉंच गायक-गायिकाहरूले उपाधिको लागि अन्तिम पटक आफ्नो प्रस्तुति दिनेछन्।

यस अतिरिक्त, आगामी वर्षदेखि 'सिक्किम आइडल, सिजन-3' अन्तरराष्ट्रियस्तरमा आयोजना गर्ने पनि घोषणा गरिएको छ। उक्त जानकारी सिक्किम आइडलका प्रमुख संरक्षक जेकब खालिङले तादोङ, गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनमा दिएका हुन्।

प्रमुख संरक्षक खालिङले 'सिक्किम आइडल, सिजन-1' को सफल आयोजनपछि सिजन-2 को ग्राण्ड फिनाले आगामी 13 नोभेम्बरका दिन रम्फूको खेलमैदानमा भव्यरूपमा सम्पन्न गरिने जानकारी गराए। उनले विभिन्न राउण्डहरू पार गर्दै जुनियर र सिनियर वर्गबाट 4-4 जना ग्राण्ड फिनालेमा पुग्न सफल बनेको बताए। यद्यपि, ग्राण्ड फिनालेमा दुवै वर्गमा 5-5 जनाले प्रतिस्पर्धा गर्ने उनले थप जानकारी गराए। उनले हरेक वर्गमा एक-एक जनाको वाइल्ड-कार्ड एण्ट्री हुनेछ भने।

उनले सोशल मिडियामा सर्वाधिक लाइक, भ्यूस् र शेयर पाउने पूर्व प्रतिभागीहरूलाई वाइल्ड-कार्ड एण्ट्री दिइने बताए। प्रतिभागीहरूको भिडियो अपलोड भइसकेको र आगामी 4 नोभेम्बरसम्मको लाइक, भ्यूस् र शेयरको आधारमा 5 नोभेम्बरका दिन वाइल्ड-कार्ड प्रतिभागीहरूको नाम घोषणा गरिने उनले बताए।

यसैगरी, प्रमुख संरक्षक खालिङले दुवै वर्गका विजेताहरूको छनोट निर्णायकहरूले दिएका अङ्क र भोटको आधारमा गरिने जानकारी गराए। उनले बताए अनुसार, कार्यक्रमको दिन उपस्थित दर्शकहरूलाई जुनियर र सिनियर वर्गका प्रतिभागीहरूको चित्र भएको भोटर स्लिप प्रदान गरिने छ। प्रतिभागीहरूले प्राप्त गरेको भोट र निर्णायकहरूको अङ्कको आधारमा विजेता घोषणा गरिने छ।

यस अतिरिक्त, उनले आगामी वर्षदेखि 'सिक्किम आइडल, सिजन-3' लाई अन्तरराष्ट्रियस्तरमा गरिने जानकारी गराए। उनले यस प्रतियोगिता अन्तर्गत सिनियर वर्ग देश-विदेशका सबै इच्छुक प्रतिभागीहरूका लागि खुल्ला रहनेछ भने जुनियर वर्गमा केवल सिक्किमकै कलाकारहरूले मात्र भाग लिने पाउने बताए। उनले यस प्रतियोगिताको आधिकारिक घोषणा 13 नोभेम्बरकै दिने गरिने बताए। उनले जुनियर वर्गका ​टप-3 प्रतिभागीहरूलाई पढ़ाउने र सङ्गीत शिक्षा प्रदान गर्ने सम्पूर्ण जिम्मा सिक्किम सरकारले लिने घोषणा गरे।

उनले ग्राण्ड फिनालेका निर्णायकहरूमा पद्मश्रीले सम्मानित नरेन गुरुङ, थुप्देन भोटिया, डा. मनोज राई र रेमन्ती राई रहेको बताए। उनले ग्राण्ड फिनालेमा नेपालका चिर्चित गायक स्वप्न समनको प्रस्तुति रहने पनि जानकारी गराए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहने उनले बताए। यसैगरी, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई लगायत मन्त्रीगण, विधायकगण, सिक्किम, दार्जिलिङ र कालेबुङका सङ्गीत स्रष्टाहरू तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थित रहने उनले अवगत गराए।

सिक्किम आइडलका निर्णायक डा. मनोज राईले प्रतिभागीहरूको प्रदर्शनबारे चर्चा गर्दै रियालिटी शोले पनि नानीहरूलाई सङ्गीत सिकाउन सक्छ भन्ने यस प्रतियोगिताबाट स्पष्ट भएको बताए। उनले आगामी वर्षदेखि हुने अन्तरराष्ट्रियस्तरको प्रतियोगिताको उल्लेख गर्दै सिक्किमका कलाकारहरू पनि विश्वमा छाउने आशा व्यक्त गरे।

यसरी नै अर्की निर्णायक रेमन्ती राईले सिक्किम आइडल टिमले विगत दुई महिना अथक परिश्रम गरेको बताउॅंदै आगामी 13 नोभेम्बरका दिन यसको फल गर्न सबैलाई उपस्थित भइदिन आह्वान गरिन्। उनले कलाकारहरूका प्रस्तुतिलाई हेरेर समर्थन गरिदिन अपील गरिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande