गान्तोक, 5 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार बिहान राजधानीको सम्मान भवनमा आयोजित एक कार्यक्रमबीच सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नर बहादुर भण्डारीलाई श्रद्धाञ्जली अर्पित गरे। वर्तमान सरकारले 5 अक्टोबर, स्वर्गीय भण्डारीको जन्मजयन्तीलाई सार्वजनिक बिदा घोषणा गरेको छ।
मुख्यमन्त्रीले आज सामाजि सञ्जाल फेसबुक पोस्टमा भने, 'स्वर्गीय भण्डारीको असाधारण विरासतको सम्मानमा वर्तमान सरकारले 5 अक्टोबर, उहाँको जन्मजयन्तीलाई सार्वजनिक बिदा घोषणा गर्यो, जुन प्रत्येक वर्ष ठूलो श्रद्धाका साथ मनाइन्छ। यो आधुनिक सिक्किमका शिल्पकार र भारतमा नेपाली भाषा आन्दोलनको अग्रणी शक्तिप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली हो।'
मुख्यमन्त्रीले स्वर्गीय भण्डारी सिक्किमका एक सम्मानित नेता मात्र नभई सम्पूर्ण भारतीय नेपाली समुदायका लागि गौरवको प्रतीक थिए भन्दै उनका आदर्श, दृढ संकल्प र सार्वजनिक सेवाप्रतिको आजीवन प्रतिबद्धताले सबैलाई प्रेरणा दिइरहेको बताएका छन्। उनले नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्ति स्वर्गीय भण्डारीको ऐतिहासिक योगदान रहेको र सबै भारतीय नेपाली भाषी समुदायको लागि गर्वको क्षण रहेको बताएका छन्।
स्वर्गीय भण्डारीलाई एक दूरदर्शी नेता बताउॅंदै उनले समाजमा न्याय र समानताको बलियो आधार स्थापना गर्दै आफ्नो जीवन कृषक, कामदार, शिक्षक, कर्मचारी र सुविधाहरूबाट वञ्चितहरूको उत्थानको लागि समर्पित गरेको मुख्यमन्त्रीले बताएका छन्। मुख्यमन्त्रीले सबैलाई स्वर्गीय भण्डारीको विरासतलाई सम्मान गर्न र अझ बलियो, समृद्ध अनि प्रगतिशील सिक्किम निर्माण गर्न शपथ लिन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल