भारी वर्षाले राष्ट्रिय राजमार्ग 10 मा वाहनहरूको चलाचल ठप्प
भारी वर्षाले राष्ट्रिय राजमार्ग 10 मा वाहनहरूको चलाचल ठप्प


गान्तोक, 5 अक्टोबर (हि.स.)। शनिवार र आइतवार राति परेको भारी वर्षाले राष्ट्रिय राजमार्ग 10 मा वाहनहरूको चलाचल पूर्ण रूपमा ठप्प बनेको छ। राष्ट्रिय राजमार्ग अन्तर्गत सिक्किमका साथै कालेबुङ जिल्लाका विभिन्न ठाउॅंहरूमा पैह्रो झरेर यातायात प्रभावित बनेको हो। यस अतिरिक्त, टिस्टा नदीको जलस्तर बढ़ेर कतिपय ठॉंउहरूमा नदीको पानी राष्ट्रिय राजमार्ग 10 सम्म आइपुगेको छ।

शनिवार-आइतवार राति परेको अबिरल वर्षाले सिक्किम र दार्जिलिङ पहाड़मा जनधनलाई व्यापक क्षति पुऱ्याएको छ। विशेष रूपमा दार्जिलिङ जिल्ला अन्तर्गत मिरिकका विभिन्न गाउॅंहरूमा पैह्रोको चपेटमा परेर 6 जनाभन्दा धेरैको ज्यान गएको समाचार प्रकाशमा आएको छ। घटनास्थलमा अझै पनि राहत एवं बचाउ कार्य जारी छ।

सिक्किममा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बरदाङ छेउ 20 माइलमा पैह्रो झरेपछि यातायात ठप्प बनेको छ। यातायात सुचारू गर्न पैह्रो सफा गर्ने कार्य शुरू गरिएको छ। यसरी नै जोरथाङ मल्ली रोड अन्तर्गत किताम फाटकमा पैह्राले यातायात अवरुद्ध बनेको छ।

भारी वर्षाका कारण टिस्टा नदीको जलस्तर बढ़े​पछि राष्ट्रिय राजमार्ग 10 मा यातायात प्रभावित बनेको छ। कतिपय ठॉंउहरूमा टिस्टा नदीको पानी बढ़ेर राजमार्गसम्म आइपुगेको छ भने वाहनहरूको यातायात पूर्ण रूपमा ठप्प बनेको छ। टिस्टा नदीको पानी टिस्टा बजारभित्र पसेपछि स्थानीय मानिसहरूमा भयको माहोल व्याप्त छ। टिस्टा भएर दार्जिलिङ जाने मार्ग पनि बन्द भएको छ।

मानिसहरूलाई सिक्किमबाट सिलगढी अथवा दार्जिलिङ जान वैकल्पिक मार्ग अपनाउन सुझाउ दिइएको छ। वर्तमान स्थितिमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न नै उचित हुने देखिन्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande