मिरिक, 07 अक्टोबर (हि.स.)। केन्द्रिय संसदीय मन्त्री किरण रिजिजु र पश्चिम बंगाल विधानसभाको विपक्षी दलका नेता शुभेन्दु अधिकारी र दार्जिलिङका सांसद राजु विष्टले आज मिरिकको सौरेनीमा पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। केन्द्रिय मन्त्री किरण रिजिजु र बंगालको विपक्षी दलका नेता शुभेन्दु अधिकारीले सौरेनीका पैह्रो पीडितहरुलाई भेट गरी विभिन्न समस्याहरु बुझ्नुको साथै बातचीत पनि गरेका थिए।
केन्द्रिय मन्त्री किरण रिजिजु समक्ष पैह्रो पीडितहरुले आफ्ना विभिन्न समस्याहरु राख्दै समाधानको माग गरे। नेताहरूले पैह्रोले प्रभावित गाउँ र मृतकको परिवारसित पनि भेटघाट गरे। साथै, उद्धार एवं बचाऊ कार्य र आवश्यक कुराहरुको जायजा लिएका थिए। उक्त पैह्रोले प्रभावित गाउँको भ्रमण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रिय मन्त्री किरण रिजिजुले दार्जिलिङ जिल्लामा भारी वर्षाले धेरै क्षति भएको बताए।
उनले आफु आज यहाँ पैह्रो निरीक्षणको लागि आएको र यहॉंका फर्किएपछि गृहमन्त्री र प्रधानमन्त्री समक्ष रिपोर्ट बुझाउने अनि राज्य सरकारसित मिलेर कार्य गर्ने बताए। उनले यसलाई ठूलो आपदा बताउँदै सर्वप्रथम हामी राज्य र केन्द्र मिलेर मानिसहरुलाई सहयोग गर्नेछौँ भनी बताए। उनले पैह्रोमा ज्यान गुमागनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले यो आपदाको बेला केन्द्र सरकार र राज्य सरकार मिलेर कार्य गर्ने बताउँदै यो आपदाको बेला हामी राजनीति छोडेर काम गर्नेछौँ साथै केन्द्र र राज्यको सामुहिक प्रयासमा कार्य गर्नेछौँ भनी बताए।
पत्रकारहरुलाई पश्चिम बंगाल विधानसभाको विपक्षीका नेता शुभेन्दु अधिकारीले पनि सम्बोधन गरेका थिए। भोलि बुधबार केन्द्रिय संसदीय मन्त्री किरण रिजिजु बिजनबारी क्षेत्रको प्राकृतिक प्रकोपको निरीक्षण गर्न जाने जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक