खरसाङ, 07 अक्टोबर (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको चिमनी देवराली पञ्चायत क्षेत्रमा पनि गत 4 अक्टोबर राति परेको पानीले धेरै क्षति गरेको छ। यस क्षेत्रमा आज क्षेत्रीय सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य दिनेश तामाङ अनि अन्य प्रतिनिधिहरुले भ्रमण निरीक्षण गरेका छन्।
विशेष चिमनी क्षेत्रमा समीर शेर्पाको घरमुनि ठूलो पैह्रो गएको छ, जसले गर्दा समीर शेर्पाकाे घरलाई ठूलो खतरा भएको छ। 2017 मा जाति र माटोकाे लागि पक्रा परेर समीर शेर्पा छ महिना जेल पनि बस्नु परेको र अनेकौं केस लागेर वर्षौ कोर्ट धाउने समीरलाई आज साँच्चै समस्या आइपरेको बताइएको छ।
यसरी नै चिम्नी जाने मुख्य सडक तीन ठाउँमा पैह्रो गएको छ भने भविष्यमा पूरै बाटो तान्ने सम्भावना रहेको छ। यसका साथै आई लभ चिम्नी लेखेको बोड छेउमा पनि पैह्रो गएको छ। चिम्नीदेखि मजुवा जाने सडक बीचमा पनि पैह्रो झरेकोले बाटो अवरोध भएको छ, तर मजुवाका युवाहरु मिलेर बाटो खोलाएकोले यतायातमा गाउँलाई समस्या नभएको पनि स्थानीय मानिसहरुले जानकारी गराएका छन्। मजुवादेखि तितेनी जाने बाटो पनि स्थानीय मानिसहरुले पैह्रो झरेकाे सफा गरेको जानकारी छ।
खुन्द्रके क्षेत्रमा जीटीएद्वारा खनिएको बाटो धेरै जग्गा क्षति भएको र महेन्द्र राईकाे घर आंशिक क्षति भएको पनि क्षेत्रवासीले जानकारी गराएका छन्। सभासद श्याम शेर्पाले विभिन्न विभाग साथै खण्ड विकास अधिकारीलाई जानकारी गराएर समाधानकाे लागि पहल गरिदिने जानकारी गराएका छन्। उनले परेको बेला सबैलाई सहयोगकाे हात बढाइदिन निवेदन गरे।
उनले भने, प्राकृतिक प्रकोप भनेर आउँदैन, अचानक आईपर्छ। यसैले विभाग पुग्न समय लाग्ला, तर छर छिमेकी गाउँ घर, संघ संस्था क्लब र समाजका प्रतिनिधिहरुले सहयोग गरिदिन साथै सम्बन्धित विभागहरुलाई जानकारी गराइदिने उनले निवेदन गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक