सोनादा, 07 अक्टोबर (हि.स.)। स्थानीय प्रशासन र सोनादा हिमालयन होमस्टे संघको संयुक्त पहलमा इन्द्रेणी फल्स क्षेत्र नजिकै फसेका पाँचजना पर्यटकहरुको सफलतापूर्वक उद्धार गरिएको छ। महकुमा अधिकारी (एसडीओ) र खण्ड विकास अधिकारी (बीडीओ) को निर्देशनमा, सोनादा पुलिस आउट पोष्टको इन्चार्ज र हिमालयन होमस्टे संघको टोलीको सक्रिय सहयोगमा सबै पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्दै उद्धार कुशलतापूर्वक सम्पन्न गरिएको छ।
यस क्षेत्रमा जाने बाटो पनि सहज रुपमा आवतजावतको लागि सफा गरेर खोलिएको छ। उद्धार गरिएका पर्यटकहरूले प्रशासकहरु एसडीओ, बीडीओ, सोनादा पुलिस आउट पोष्टको इन्चार्ज र हिमालयन होमस्टे संघका अध्यक्ष र सदस्यहरूलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न समयमै कार्य, सहयोग र समर्पणको लागि हार्दिक आभार व्यक्त गरेका छन्।
यो सफल र संयुक्त कार्यले यस क्षेत्रमा आपतकालीन परिस्थितिहरू सम्हाल्न स्थानीय प्रशासन र सामुदायिक संस्थाहरू बीचको बलियो समन्वयलाई प्रकाश पारेको छ। यसको साथै इन्द्रेणी फल्स क्षेत्रमा फँसेका पर्यटकहरुलाई उद्धार गर्नलाई सोमबार रातिसम्म सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको सहयोग र पहलमा सोनादादेखि मिलिङ बस्ती जाने रोड खोलाउन जेसीबी प्रबन्ध गरेर रोड खोलाउने कार्य सम्पन्न गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक