भोपाल, ०९ अक्टोबर (हिस.)। मध्यप्रदेशमा विषालु कफ सिरपका कारण बालबालिकाको मृत्युको श्रृंखला अझै रोकिएको छैन। बुधबार राति अर्को बालकको पनि मृत्यु भएको छ। छिन्दवाड़ा जिल्लाको उमरेठ तहसील अन्तर्गत पचधार गाउँका तीन वर्षीय मयंक सूर्यवंशीले उपचारको क्रममा नागपुर मेडिकल कलेजमा दम तोडेका छन्। उनी २५ सेप्टेम्बरदेखि उपचाररत थिए। यससँगै मृत्यु हुने बालबालिकाको संख्या २२ पुगेको छ, जसमा १९ जना छिन्दवाड़ा, दुई जना बैतूल र एक जना पांढुर्णा जिल्लाका छन्। सबै बालबालिकाको उमेर आठ वर्षभन्दा कम रहेको छ।
यसैबीच, कोल्ड्रिफ कफ सिरप उत्पादन गर्ने कम्पनी श्रीसन फार्माका निर्देशक गोविन्दन रंगनाथनलाई पुलिसले पक्राउ गरेको छ। छिन्दवाड़ाका पुलिस अधीक्षकले यसको पुष्टि गरेका छन्। उनका अनुसार, मध्यप्रदेश सरकारले बनाएको विशेष अनुसन्धान दल (एसआईटी) ले बुधबार राति चेन्नईमा छापा मारेर रंगनाथनलाई पक्राउ गरेको हो। एसआईटीले कम्पनीबाट महत्वपूर्ण कागजात, औषधिका नमूना र उत्पादन रेकर्ड पनि जब्त गरेको छ। रंगनाथनलाई आज चेन्नईको अदालतमा पेश गरी ट्रान्जिट रिमाण्ड लिएर छिन्दवाड़ा ल्याइनेछ।
मध्यप्रदेशमा कोल्ड्रिफ सिरप सेवनपछि बालबालिकामा किड्नी संक्रमण र मृत्युका घटनाहरू बढेपछि सरकारद्वारा गठित एसआईटी बुधबार तमिलनाडु पुगेको थियो। एसआईटीले चेन्नई र कांचीपुरमस्थित कम्पनीको रजिस्टर्ड कार्यालय तथा उत्पादन प्लान्टमा पुगेर प्रमाण संकलन गरेको हो। अधिकारीहरूका अनुसार, कम्पनीका मालिक तीन दिनअघि नै फरार भएका थिए। त्यसपछि छिन्दवाड़ा जोनका डीआईजी राकेश कुमार सिंहले रंगनाथनको पक्राउमा सहयोग गर्ने व्यक्तिलाई २० हजार रुपियाँ नगद पुरस्कारको घोषणा गरेका थिए।
रंगनाथन पक्राउ परेपछि पुलिस र स्वास्थ्य विभागले श्रीसन फार्मा विरुद्धको अनुसन्धान तीव्र पारेको छ। प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ कि सिरप निर्माणमा गुणस्तरका मापदण्डको पालना गरिएको थिएन, जसका कारण विषालु सिरप बजारमा पुगेको हो। अधिकारीहरूले जनाएका छन् कि यस प्रकरणमा थप पक्राउ हुनसक्छ। साथै सिरपको वितरण सञ्जाल र बिक्री गर्ने औषधि पसलहरूको पनि छानबिन भइरहेको छ। जनतासँग आग्रह गरिएको छ कि उनीहरूले तुरुन्तै कोल्ड्रिफ सिरपको प्रयोग बन्द गरुन् र आफ्ना बच्चाहरूको स्वास्थ्य परीक्षण गरुन्।
यसबीच, कफ सिरपको परीक्षणमा ठूलो खुलासा भएको छ। तमिलनाडु ड्रग्स कन्ट्रोल निर्देशकको रिपोर्टका अनुसार यो सिरप नन–फार्मास्युटिकल ग्रेडको रासायनिक पदार्थबाट तयार गरिएको थियो। अनुसन्धानका क्रममा कम्पनीका मालिकले मौखिक रूपमा स्वीकार गरेका छन् कि उनले दुई पटकमा प्रोपिलिन ग्लाइकोलका ५० किलोका दुई बोरा (कुल १०० किलो) खरिद गरेका थिए। तर, उक्त खरिदको कुनै बिल वा लेखा रेकर्ड फेला परेको छैन। अनुसन्धानमा उनले कहिले नगद र कहिले यूपीआईमार्फत भुक्तानी गरेको बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी