विश्व शौचालय दिवसमा देशमा जल शक्ति मन्त्रालयको अभियान शुरू
ओडीएफ


नयाँ दिल्ली, 20 नोभेम्बर (हि.स.)। भारत सरकारले विश्व शौचालय दिवसको अवसरमा देशभर ‘हाम्रो शौचालय, हाम्रो भविष्य’ अभियान शुरु गरेको छ। यो अभियान अन्तर्गत आगामी दिसम्बर १० सम्म ग्रामीण क्षेत्रमा सामुदायिक र घरेलु शौचालयहरूको कार्यक्षमता परीक्षण, मर्मत, सौन्दर्य सुधार, सञ्चालन व्यवस्थाको सुदृढीकरण तथा व्यापक जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अभियान स्वच्छ भारत मिशन अन्तर्गत बनेका शौचालयहरूको दिगोपन र ग्रामीण सरसफाइ प्रणाली सुदृढ पार्न केन्द्रित छ।

केन्द्रिय जल शक्ति मन्त्रालयका अनुसार, अभियानको मुख्य उद्देश्य सामुदायिक शौचालय परिसर र घरमा बनेका शौचालयहरूको अवस्थाको मूल्याङ्कन, आवश्यक सुधार कार्य र सरसफाइ व्यवहार प्रवर्द्धन गर्नु हो। विद्यालय र ग्रामीण समुदायहरूमा सरसफाइ, फोहोर व्यवस्थापन, जलवायु अनुकूल सरसफाइ प्रणाली र सेवा प्रोटोकलबारे जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ। जन सहभागितामार्फत पूर्ण सरसफाइ कायम राख्ने लक्ष्य लिइएको छ।

अभियानका लागि ग्राम पञ्चायतदेखि जिल्लास्तरसम्म जिम्मेवारीहरू तोकिएको छ र सम्बन्धित सबै विभागहरूलाई सक्रिय सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको छ। जनचेतना गतिविधिहरूका लागि राज्यहरूलाई स्थानीय प्रमुख व्यक्तित्व, पद्म पुरस्कार विजेता, पूर्व सैनिक, वरिष्ठ नागरिक, युवा समूह र विद्यालयका बालबालिका समावेश गर्न अनुरोध गरिएको छ। अभियानमा सरसफाइ कामदारको सम्मान र पात्र परिवारहरूलाई शौचालय स्वीकृति पत्र वितरण पनि समावेश छ।

स्वच्छ भारत मिशन ग्रामीण सन् २०१४ मा शुरु गरिएको थियो र सन् २०१९ सम्म भारतभर ११ करोड़भन्दा बढी शौचालय निर्माण भएका थिए। मिशनको दोस्रो चरण सन् २०२० मा शुरु भएको हो, जसले खुला शौचमुक्त अवस्थाको स्थायित्व र गाउँहरूलाई ओडीएफ प्लस मोडेल गाउँमा रूपान्तरण गर्न ध्यान केन्द्रित गरेको छ। अभियान अवधिमा राज्य र केन्द्रशासित प्रदेशहरूलाई यी प्रणालीहरूलाई अझ मजबुत बनाउन आग्रह गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande