प्रधानमन्त्री मोदी दक्षिण अफ्रीका प्रस्थान, जी-20 शिखर सम्मेलनमा भाग लिने
PM modi-africa


नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)।

प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान तीन दिने दक्षिण अफ्रिका भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रस्थान गर्नुअघि उनले भारत र दक्षिण अफ्रिकाबीचको ऐतिहासिक सम्बन्ध सम्झँदै भने, भारतले सन् 2023 मा जी–20 को अध्यक्षता गर्दा अफ्रिकी संघलाई सदस्यका रूपमा समावेश गरिएको थियो, र अब अफ्रिका महादेशमा पहिलो पटक जी–20 शिखर सम्मेलन हुन लागेको यो क्षण भारतका लागि गर्वको विषय हो।

प्रधानमन्त्री कार्यालयका अनुसार, मोदी 21 देखि 23 नोभेम्बरसम्म जोहान्सबर्गमा हुने 20औं जी–20 लिडर्स समिटमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको निमन्त्रणामा सहभागी हुनेछन्। यो सम्मेलन अफ्रिका महादेशमा आयोजना हुने पहिलो जी–20 शिखर सम्मेलन हुनेछ।

प्रधानमन्त्री मोदीले भने, यस वर्षको विषयवस्तु “समानता, एकता र स्थिरता” हो। यो विषयले नयाँ दिल्ली र रियो डी जेनेरियोमा भएका अघिल्ला जी–20 शिखर सम्मेलनका निष्कर्षहरूलाई अगाडि बढाउनेछ। उनले भने, भारतले सम्मेलनमा आफ्नो दृष्टिकोण “वसुधैव कुटुम्बकम” र “एक पृथ्वी, एक परिवार, एक भविष्य” को अवधारणाको आधारमा प्रस्तुत गर्नेछ, जसले विश्वव्यापी सहकार्य, समानता र दिगो विकासप्रति भारतको प्रतिबद्धता जनाउँछ।

यस भ्रमणको क्रममा प्रधानमन्त्री मोदी जी–20 सम्मेलनका अतिरिक्त आईबीएसए (भारत–ब्राजिल–दक्षिण अफ्रिका) को छैटौं शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। उनले विभिन्न देशका नेताहरूसँग द्विपक्षीय वार्ता गरी आर्थिक सहकार्य, जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र विश्वशान्ति जस्ता प्रमुख मुद्दाहरूमा छलफल गर्ने योजना छ।

सोही क्रममा उनले दक्षिण अफ्रिकामा बसोबास गर्ने भारतीय समुदायसँग पनि भेटघाट गर्नेछन्। यो समुदाय भारतबाहिरका ठूला प्रवासी समुदायमध्ये एक हो। प्रधानमन्त्रीले उनीहरूका अनुभव, योगदान र समस्याहरू सुन्ने र सफलताहरू साझा गर्ने कार्यक्रम गर्नेछन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande