
नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्रान्चले पाकिस्तानको गुप्तचर संस्था आईएसआई समर्थित अन्तरराष्ट्रिय हथियार तस्करी मोड्युलको भण्डाफोड गरेको छ। यो गिरोहले ड्रोनमार्फत पाकिस्तानबाट अत्याधुनिक विदेशी पेस्तोल भारतमा तस्करी गरिरहेको थियो। पुलिसले यस नेटवर्कसँग सम्बन्धित चार प्रमुख तस्करलाई पक्राउ गरी उनीहरूबाट १० हाई-एण्ड सेमी–अटोमेटिक पेस्तोल र ९२ जिउंदो कारतूस बरामद गरेको छ। बरामद हातहतियारमा विशेष बलले प्रयोग गर्ने टर्कीमा निर्मित पीएक्स-5.7 पेस्तोल पनि सामेल छ।
क्राइम ब्रान्चका डिप्टी कमिश्नर अफ पुलिस संजीव यादवका अनुसार, १९ नोभेम्बरमा सूचना प्राप्त भएपछि रोहिणी क्षेत्रका सेक्टर-२८ मा खाटू श्याम मन्दिर नजिक जाल बिछाइयो। सोही समयमा आएको सेतो स्विफ्ट डिजायर कारको खोजतलास गर्दा स्पीकरबक्सभित्र लुकाइएका डफल ब्यागबाट ८ विदेशी पेस्तोल र ८४ राउण्ड कारतूस फेला परे।
पक्रा परेका अभियुक्तहरू जालन्धर निवासी मनीदीप सिंह र दलविन्दर कुमार रहेका छन्। दुवैले विदेशी ह्यान्डलरहरूका सम्पर्कमा रही भारतभरका विभिन्न ग्याङ्गलाई हथियार सप्लाई गर्ने गरेको खुलासा गरेका छन्। उनीहरूको बयानका आधारमा गिरोहका अरू दुई सदस्य रोहन तोमर र अजय उर्फ मोनूलाई पक्राउ गरिएको छ। उनीहरूको कब्जाबाट थप २ पेस्तोल र ८ कारतूस बरामद गरिएको छ।
जाँचमा खुलासा भएअनुसार, हथियारहरू पाकिस्तानबाट रातको समयमा ड्रोनमार्फत भारतीय सीमामा छोडिन्थे। गिरोहले जीपीएस लोकेशनको आधारमा ती प्याकेट उठाउने गर्थ्यो। जाँचमा नपरोस् भनेर हथियारलाई कार्बन पेपरले बेरिएको हुन्थ्यो। गिरोहलाई विदेशमा बसेका कुख्यात ग्याङ्गस्टर सोनू खत्री उर्फ राजेश कुमारले निर्देशित गर्दै आएको पत्ता लागेको छ, जो अहिले अमेरिकामा छ। उसका सहयोगी जसप्रीत उर्फ जस आईएसआई समर्थित मोड्युलमार्फत हथियार मँगाउँथ्यो।
मनीदीप सिंह हत्या, हत्या प्रयास, ग्याङ्गस्टर एक्ट र एनडीपीएससहितका धेरै मुद्दामा वाञ्छित रहँदै आएको छ। दलविन्दर आर्थिक समस्याका कारण हथियार तस्करीमा लागेको बताइएको छ। रोहन तोमरले गोगी, भाऊ र नन्दू ग्याङ्गलाई लगातार हथियार सप्लाई गर्दै आएको छ। यसअघि पनि उसबाट १७ पेस्तोल र ७०० कारतूस बरामद भइसकेका छन्।अजय उर्फ मोनू पनि विभिन्न ग्याङ्गहरूलाई सप्लाई गर्ने क्रममा संलग्न थियो र यसअघि चोरीका घटनामा पक्राउ परिसकेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी