
मुम्बई, २२ नोभेम्बर (हि.स.)। ठाणे जिल्लाको अंबरनाथमा नगर निकायको चुनाउ प्रचारमा रहेका एक उम्मेदवारको कार गए राति धेरै सवारी साधनलाई ठोक्किँदै पल्टिँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। घटनाको जांच अंबरनाथ पुलिस स्टेशनको टोलीले गरिरहेको छ।
अंबरनाथका असिस्टेन्ट कमिश्नर अफ पुलिस (एसीपी) शैलेश कालेले शनिबार बताए अनुसार, दुर्घटनामा कार चालकसहित ०४ जनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त सवारी साधनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मृतकहरूको शव बरामद गरी सरकारी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। थप तीन जना घाइते भएका छन् र उनीहरूको अवस्था खतरामुक्त बताइएको छ। उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
घटनाको जांच गरिरहेका पुलिस अधिकारीका अनुसार, अंबरनाथ नगर परिषद् चुनाउका लागि शिवसेना शिन्दे समूहकी उम्मेदवार किरण चौबे आफ्ना चालक लक्ष्मण शिन्देसँग मटका चौक नजिकैको बुवा पाडा क्षेत्रमा चुनाउ प्रचारका लागि कारमा जाँदै थिइन्। कार चालकको खुट्टा अचानक एक्सिलेटरमा अड्किएपछि कार अनियन्त्रित भयो। अनियन्त्रित कारले धेरै दुईचक्के सवारी साधनलाई किच्दै डिभाइडरमा ठोक्किएर पल्टियो।
मृतकहरूको पहिचान चालक लक्ष्मण शिन्दे, चन्द्रकान्त अनारके (५७), शैलेश जाधव (४५) र सुमित चेलानी (१७) का रूपमा गरिएको छ। यस घटनामा किरण चौबे पनि घाइते भएकी छन् र उनको उपचार निजी अस्पतालमा भइरहेको छ। घाइते अमित चव्हाणको उपचार सेन्ट्रल अस्पतालमा भइरहेको छ भने घाइते अभिषेक चव्हाणलाई कलवाको छत्रपति शिवाजी महाराज अस्पतालमा सारिएको छ।
पुलिसलाई दिएको बयानमा किरण चौबेले बताएकी छन्, जब कार पुल चढ्दै थियो, त्यही बेला चालक शिन्देलाई फोन आयो र फोन उठाउने क्रममा उनले अचानक जवाफ दिन छाडे। उनले केही बुझ्न नपाउँदै चालकको खुट्टा एक्सिलेटरमा थिचिएको देखिन्, जसले गर्दा गाडी अनियन्त्रित भयो।
हिन्दुस्थान समाचार / भवानी थामी