
बाग्राकोट, 3 नोभेम्बर (हि.स.)। डुवर्सका प्रतिष्ठित साहित्यकार, अन्वेषक एवं इतिहासपरक लेखकका रूपमा परिचित गोपालसिंह विश्वको छैटौँ कृति 'केही खोज: केही अध्ययन' हिजो बाग्राकोटस्थित उनकै निवासमा सार्वजनिक गरियो। स्थानीय थोरै साहित्यकारहरूका उपस्थितिमा पुस्तक सार्वजनिक गरिए तापनि पुस्तकको महत्त्व भने दीर्घकालीन रहने देखिएको छ। वरिष्ठ समाजसेवी एवं भाषा-सङ्ग्रामी जे.बी.छेत्रीको अध्यक्षतामा आयोजित छोटो पुस्तक सार्वजनिक कार्यक्रममा समालोचक रूपेश शर्मा, अनुवादक एवं कवि गङ्गाप्रसाद प्रधान, साहित्यकार शङ्कर प्रधान, अन्वेषक निर्मल शर्मा, कथाकार मदन खड्का र कवि अशोक विश्वको उपस्थिति रहेको थियो।
संक्षिप्त औपचारिक कार्यक्रममा गोपालसिंह विश्वको परिचयात्मक टिप्पणी राख्दै निर्मल शर्माले डुवर्सेली साहित्यले अब अन्य ठाउँको साहित्यसँग कुममा कुम मिलाएर हिँड्नसक्ने भएको बताए। सिंहका सिर्जनकार्यको प्रशंसा गर्दै शर्माले विज्ञानपरक लेख र अनुसन्धानपरक कार्यमा गोपालसिंह विश्वले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले सार्वजनिक गरिएको पुस्तकबारे पनि छोटो टिप्पणी प्रस्तुत गरे। समालोचक रूपेश शर्माले गोपालसिंह विश्वले प्रामाणिक इतिहासलेखनको परम्परालाई अनुसरण गरी मूल्यवान कृतिहरू डुवर्सलाई दिएको उल्लेख गर्दै यस सन्दर्भमा उनको 'सन्दर्भ: डुवर्स र गोर्खाहरू' मास्टरपिस रहेको टिप्पणी गरे। वरिष्ठ अनुवादक गङ्गाप्रसाद प्रधानले गोपालसिंह विश्वको लेखनले डुवर्सेली साहित्यलाई माथि उठाउने काम गरेको बताउँदै यसप्रति आफूलाई गर्वबोध भएको मन्तव्य गरे। सर्जक विश्वलाई शुभकामना र बधाई दिँदै साहित्यकार शङ्कर प्रधानले उनको लेखनले सबैलाई शिक्षा दिएको बताए भने कथाकार मदन खड्काले किशोर वयदेखि उनको साहित्यिक गतिशीलताबाट आफू प्रभावित हुँदै आएको उल्लेख गरे। यसैगरी, कवि अशोक विश्वले आफ्ना दाजुका कामलाई लामो समयदेखि आफूले पछ्याउँदै आएको बताए। सर्जक गोपालसिंह विश्वले आफ्नो मूल रुचि इतिहास र विज्ञानमाथि रहेको बताउँदै आगामी दिनहरू त्यसैको अध्ययन र लेखनमा खर्च गर्ने अवगत गराए। आफूलाई सधैँ नयाँ-नयाँ कुराहरू खोज्ने इच्छा जागृत हुने गरेको पनि उनले बताए। यस अवसरमा उनले नेपाली जातिको छोटो इतिहास पनि राखे। आफ्नो अध्यक्षीय सम्बोधनमा जे.बी.छेत्रीले गोपालसिंह विश्वले आफ्ना गहन अध्ययन र अनुसन्धानद्वारा नेपाली साहित्यमा उल्लेखनीय योगदान दिइरहेको बताए। भाषा आन्दोलनमा डुवर्सले बराबरी रूपमा योगदान दिए पनि डुवर्सको इतिहास ओझेल परेको जिकिर गर्दै छेत्रीले यसतर्फ पनि सर्जक विश्वको अनुसन्धान अघि बढ़ोस् भन्ने कामना गरे।
'केही खोज: केही अध्ययन' गोपालसिंह विश्वको छैटौँ कृति हो। यसभन्दा अघि उनका 'युग र मान्छे' (२०१३), ब्राह्मण्ड र पृथ्वी (२०१७), 'सन्दर्भ: डुवर्स र गोर्खाहरू'(२०१८), 'डुवर्सका केही साहित्यिक व्यक्तित्वहरू' (२०२०) र 'भारतीय नेपाली साहित्यका स्रष्टा-द्रष्टाहरू' (२०२४) प्रकाशित भइसकेका छन्। उनले 'प्रयास' ( १९७३-१९७७), 'नयाँ दृष्टि' (२०१४-१५) जस्ता स्तरीय पत्रिका अनि 'कृष्णभक्त खड्काका कथाहरू' (२०२२) -को पनि सम्पादन गरेका छन्। २०१३ मा भारतीय रेलवेको उच्च तहका अधिकारीबाट अवकाश ग्रहण गरेपछि उनी साहित्यको सेवामा दत्तचित्त भएर लागेका छन्। लेखनमा स्तरीयता र उर्वरता दुवै दृष्टिले गोपालसिंह विश्व सक्रिय र प्रतिबद्ध लेखक हुन्। उनका यी कामहरूले नयाँ पिँढ़ीले पनि प्रेरणा लिएको देखिएको छ। डुवर्सको प्रमुख संस्था डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष एवं वरिष्ठ साहित्यकार अबीर खालिङ र महासचिव रविन खवासले उनमा निहित लेखकीय ऊर्जाको मुग्धकण्ठले प्रशंसा गर्दै सर्जक विश्वलाई बधाई दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल