
खरसाङ, 3 नोभेम्बर (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जिलिङ मोडलगायत अन्य गोर्खा धरोहरहरूलाई जीटीए सभामा पारित नगरी तथा पारदर्शिताबिनै लिजमा दिएको आरोप लगाउँदै जीटीए पर्यटन विभाग र सरकारसँग तत्काल स्पष्टिकरणको माग गरेको छ।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङका प्रवक्ता आरके शर्माले यस कार्यलाई गोर्खा समुदायको भावनामाथिको प्रहार ठहर गर्दै कागजी प्रमाणसहित विवरण सार्वजनिक गर्न जीटीए सरकारसँग माग गरेका छन्।
प्रवक्ता शर्माको साथमा चिमनी देउराली ग्राम पञ्चायत प्रधान एवं केन्द्रिय सदस्य बिमल तामाङ, इण्डियन गोर्खा जनशक्ति फ्रण्टको ट्रेड युनियन समन्वयक बिपन गुरुङ, र खरसाङ नगरपालिकाका क्षेत्रीय समन्वयक अभिनन्दन रावत उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक