
खरसाङ, 14 दिसम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आयोजित स्व केदारनाथ प्रसाद स्मृति नकआउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम इलेभेन सिलगढीले जितेको छ। खरसाङको भिक्टोरिया खेल मैदानमा सम्पन्न स्व केदारनाथ प्रसाद स्मृति नकआउट क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा मुथुम इलेभेन सिलगढीले प्रतिद्वन्दी डेमोन्स बोइसलाई पराजित गरेर उपाधि आफ्नो नाम गरेको हो।
फाइनलमा डेमोन्स बोइसले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 9 विकेट गुमाएर 158 रन बनाएको थियो। डेमोन्स बोइसको तर्फबाट सोनुकुमार शाहले 47 रन, राज चौहानले 47 रन बनाए। 159 रनको लक्ष्यलाई खेदो गर्दै मुथुम इलेभेन सिलगढीले 7 विकेट गुमाएर 14 ओभर 3 बलमा 159 रन बनाएर उपाधि जित्न सफल बन्यो। मुथुम इलेभेनको तर्फबाट इजाजले 45 रन र सुभमले 19 रन बनाए।
मुथुम इलेभेनलाई अन्तिम ओभरमा म्याच जित्न 18 रनको आवश्यकता थियो, जसलाई सुभमले लगातार 3 वटा छक्का हिर्काएर प्राप्त गरेका थिए। शुभमलाई उनको उत्कृष्ट प्रदर्शनको लागि म्यान अफ् द म्याच घोषित गरियो। यसैगरी, बेस्ट फिल्डर निर्भिक, बेस्ट बलर राहुल, बेस्ट विकेट किपर किशान र म्यान अफ् द टुर्नामेन्ट बसन्त छेत्री चयन भएका छन्। छेत्रीले टुर्नामेन्टमा 206 रन बनाउनुका साथै 12 विकेट पनि लिएका थिए।
फाइनलका विजेतालाई ट्रफीको साथमा 20 हजार अनि उप विजेतालाई ट्रफीको साथमा 10 हजार रुपियाँ प्रदान गरिएको छ। यस फाइनल खेलमा अतिथिका रुपमा खरसाङ महकुमा खेलकूद संघका संरक्षक एसबी सुनवार, ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री, स्व केदारनाथ प्रसादका छोरा चन्दन प्रसाद पनि उपस्थित रहेका थिए। यस टुर्नामेन्टका विजेता र उप विजेता टिमलाई चन्दन प्रसादले ट्र्याक सुट प्रदान गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक