
नयाँ दिल्ली, १७ दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको धारणा थियो कि बहुमतको बलमा कुनै लोकप्रिय प्रधानमन्त्री राष्ट्रपतिको पदमा जानु भारतीय संसदीय लोकतन्त्रका लागि राम्रो संकेत होइन र यो अत्यन्त गलत परम्परा हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी २०२७ मा राष्ट्रपति बन्ने अड्कलहरूबीच वाजपेयीको यस दृष्टिकोणलाई पुनः रेखांकित गरिएको छ। यो कुरा उनको प्रधानमन्त्रीकालमा मिडिया सल्लाहकार रहेका वरिष्ठ पत्रकार अशोक टण्डनले लेखेको पुस्तकमा उल्लेख गरिएको छ। सो पुस्तकको बुधबार यहाँ विमोचन गरियो।
वास्तवमा, कुरा सन् २००२ को हो जब वाजपेयीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकारले नयाँ राष्ट्रपतिको उम्मेदवारका नामहरूबारे विचार गरिरहेको थियो। त्यस समयमा लेखक वाजपेयीको प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए। पुस्तकमा अशोक टण्डन लेख्छन्, डा. पी.सी. अलेक्जेन्डर महाराष्ट्रका राज्यपाल थिए र प्रधानमन्त्री कार्यालयमा उनका एक प्रभावशाली सहकर्मी व्यक्तिगत रूपमा डा. अलेक्जेन्डरसँग सम्पर्कमा थिए र आफू वाजपेयीका दूतजस्तै संकेत दिइरहेका थिए। उही व्यक्तिले अर्कोतर्फ वाजपेयीलाई निरन्तर यो बुझाउने प्रयास गरिरहेका थिए कि डा. अलेक्जेन्डर, जो एक इसाई हुन्, लाई राष्ट्रपतिको उम्मेदवार बनाइनुपर्छ। यसो गर्दा कांग्रेस अध्यक्ष सोनिया गान्धी असहज हुनेछन् र भविष्यमा उनी प्रधानमन्त्री बन्ने सम्भावना रहनेछैन, किनकि देशमा एक इसाई राष्ट्रपति हुँदा अर्को इसाई प्रधानमन्त्री हुन सक्दैन।
अर्कोतर्फ, तत्कालीन उपराष्ट्रपति कृष्णकान्त एनडीएका संयोजक तथा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू र अन्य नेताहरूको समर्थनमा आफ्नो उम्मेदवारीमा निर्भर थिए। यसैबीच भाजपाभित्रबाट आवाज उठ्न थाले कि किन आफ्नै दलका कुनै वरिष्ठ नेतालाई यो पदका लागि चयन गरियोस्। वाजपेयी सबैको कुरा सुन्थे, तर आफ्ना विचार सार्वजनिक गर्दैनथे। सम्पूर्ण विपक्ष सेवानिवृत्त हुँदै गरेका राष्ट्रपति के.आर. नारायणनलाई एनडीए उम्मेदवारविरुद्ध उभ्याउने प्रयासमा सक्रिय थियो, तर नारायणनले त्यो प्रस्ताव अस्वीकार गरे। उनको शर्त थियो, यदि उनी निर्विरोध निर्वाचित हुने सुनिश्चित भए मात्र चुनाव लड्न तयार हुनेछन्।
लेखकका अनुसार, वाजपेयीले आफ्नै दलभित्रबाट आएका ती सुझाउहरू सिधै अस्वीकार गरिदिए, जसमा उनलाई स्वयं राष्ट्रपति भवन जान र प्रधानमन्त्री पद आफ्ना दोस्रो नम्बरका नेता लालकृष्ण आडवाणीलाई सुम्पन सुझाउ आइरहेको थियो। वाजपेयी यसका लागि तयार थिएनन्। उनको मत थियो कि कुनै लोकप्रिय प्रधानमन्त्री बहुमतको बलमा राष्ट्रपति बन्नु भारतीय संसदीय लोकतन्त्रका लागि राम्रो संकेत होइन, यसले गलत परम्पराको शुरुआत गर्नेछ, र यस्तो कदमको समर्थन गर्ने अन्तिम व्यक्ति उनी स्वयं हुनेछन्।
वाजपेयीले राष्ट्रपतिको पदका लागि सहमति बनाउन विपक्षी कांग्रेस नेताहरूलाई आमन्त्रण गरे। अशोक टण्डन लेख्छन्, “मलाई सम्झना छ सोनिया गान्धी, प्रणब मुखर्जी र डा. मनमोहन सिंह उनीसँग भेट्न आएका थिए। वाजपेयीले पहिलो पटक आधिकारिक रूपमा खुलासा गरे कि एनडीएले राष्ट्रपति चुनाउका लागि डा. ए.पी.जे. अब्दुल कलामलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केही क्षणका लागि सन्नाटा छायो।” त्यसपछि सोनिया गान्धीले मौनता तोड्दै भनिन्, “तपाईको चयनले हामी स्तब्ध भएका छौं। हामीसँग उनलाई समर्थन गर्ने बाहेक अरू विकल्प छैन, तर हामी तपाईको प्रस्तावबारे छलफल गरी निर्णय लिनेछौं।” बाँकी इतिहास बन्यो। समाजवादी पार्टीका प्रमुख मुलायम सिंह यादवले आफ्नो पार्टीको समर्थन घोषणा गर्दै भने, “डा. कलाम मेरो रोजाइ हुन्।”
पुस्तकमा उल्लेख छ, डा. अलेक्जेन्डरले आफ्नो आत्मकथामा सन् २००२ मा आफू राष्ट्रपतिको पदमा पुग्न नदिएकोमा धेरै मानिसहरूलाई जिम्मेवार ठहराएका छन्। कांग्रेस सरकारका पूर्व केन्द्रिय मन्त्री कुँवर नटवर सिंहका अनुसार, डा. अलेक्जेन्डरले उनलाई तथा वाजपेयीका प्रधान सचिव र राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रालाई पनि यसका लागि दोषी ठहराएका थिए। डा. कलामको नामले सबैलाई चकित पारेको थियो, किनकि राष्ट्रपतिको दौड़मा उनको नाम कतै पनि चर्चामा थिएन।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी