
श्रीनगर, १८ दिसम्बर (हि.स.)। रसद क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै भारतीय सेनाले विशेष सैन्य रेलमार्फत कश्मीर भ्यालीमा ट्याङ्क, तोप तथा इन्जिनियरिङ उपकरणहरू सफलतापूर्वक पुर्याएको छ, जसले यस क्षेत्रमा सेनाको परिचालन तत्परतामा उल्लेखनीय वृद्धि गरेको छ।सेनाको अतिरिक्त लोक सूचना महानिदेशालय (एडीजीपीआई) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको पोस्टमा जनाएअनुसार, भारतीय सेनाले १६ दिसम्बरमा विशेष सैन्य रेलमार्फत कश्मीर भ्यालीमा ट्याङ्क र तोप पुर्याउँदै रसद क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। सेनाका अनुसार, सत्यापन अभ्यास अन्तर्गत ट्याङ्क, तोप र डोजर जम्मू क्षेत्रबाट दक्षिण कश्मीरको अनन्तनागसम्म सफलतापूर्वक पुर्याइएका छन्। यसले सेनाको गतिशीलता र रसद क्षमतामा वृद्धि भएको स्पष्ट देखाएको छ।यस अभियानले सेनाको गतिशीलतालाई ठूलो प्रोत्साहन दिएको छ, जसले उत्तरी सीमाहरूमा छिटो रसद तयारी र परिचालन तत्परतालाई थप सुदृढ़ बनाएको छ। सेनाले यो उपलब्धि भारतीय रेल मन्त्रालयसँगको घनिष्ठ समन्वयमा हासिल भएको बताएको छ, जसले उधमपुर–श्रीनगर–बारामूला रेल लिंक परियोजनाको परिवर्तनकारी प्रभावलाई रेखांकित गर्छ।सेनाका अनुसार, यही वर्ष जून महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित उधमपुर–श्रीनगर–बारामूला रेल लिंकको उद्घाटन गरेको थियो। ४३,७८० करोड़ रुपियाँको लागतमा निर्माण गरिएको २७२ किलोमिटर लामो यो रेलमार्ग हिमालयका केही अत्यन्त दुर्गम भूभाग हुँदै र कश्मीर उपत्यकालाई सबै मौसममा निर्बाध सम्पर्क सुनिश्चित गर्छ। उद्घाटनको तीन महिनापछि सेनाले कडा जाडो सुरु हुनुअघि कश्मीरमा तैनाथ आफ्ना एकाइहरूका लागि आपूर्ति पुर्याउन मालगाडीको प्रयोग गरेको हो।सेप्टेम्बरको मध्यतिर सेनाले जम्मूबाट भ्यालीमा तैनाथ आफ्ना कर्मीहरूका लागि ७५३ मेट्रिक टन अग्रिम शीतकालीन आपूर्ति पुर्याएको थियो। सेनाले यो रणनीतिक पहल चुनौतीपूर्ण हिमालयी भूभागमा परिचालन तत्परता सुनिश्चित गर्न निरन्तर भइरहेको क्षमता विकास प्रयासहरूको प्रमाण भएको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी