
नयाँ दिल्ली, १८ दिसम्बर (हि.स.)। विश्वकै सबैभन्दा अग्लो प्रतिमा स्ट्याच्यु अफ युनिटीका अनुपम शिल्पकार राम सुतारको बुधबार अबेर राति दिल्ली–एनसीआरको नोएडास्थित आफ्नै निवासमा निधन भएको छ। १०० वर्षीय सुतार लामो समयदेखि उमेरसम्बन्धी समस्याबाट ग्रसित थिए। उनका कालजयी सिर्जनामध्ये सरदार वल्लभभाई पटेलको विशाल प्रतिमा स्ट्याच्यु अफ युनिटी गुजरातमा स्थापित छ।
शिल्पकार सुतारका पुत्र अनिलले आज सञ्चारमाध्यमसँग साझा गरेको सन्देशमा भने, “अत्यन्त दुःखका साथ हामी तपाईलाई सूचित गर्दछौं कि मेरा पिता श्री राम वनजी सुतारको १७ दिसम्बरको मध्यरातमा हाम्रो निवासमा निधन भएको छ।”
राम सुतारको जन्म १९ फरवरी, १९२५ मा महाराष्ट्रको धुले जिल्लाको गोंडूर गाउँमा एक साधारण परिवारमा भएको थियो। बाल्यकालदेखि नै उनको रुचि मूर्तिकलातर्फ थियो। उनले मुम्बईको जेजे स्कूल अफ आर्ट एन्ड आर्किटेक्चरबाट स्वर्ण पदक प्राप्त गरेका थिए। त्यसपछि उनले भारतीय मूर्तिकलालाई नयाँ उचाइमा पुर्याउने लामो र उल्लेखनीय रचनात्मक यात्रा तय गरे। नयाँ दिल्लीको संसद परिसरमा स्थापित ध्यान मुद्रामा महात्मा गान्धीको मूर्ति तथा घोडामा सवार छत्रपति शिवाजी महाराजको मूर्ति उनका उत्कृष्ट कृतिहरूमध्ये पर्छन्।
राम सुतारलाई सन् १९९९ मा पद्म श्री र २०१६ मा पद्म भूषणबाट सम्मानित गरिएको थियो। हालै उनलाई महाराष्ट्रको सर्वोच्च सम्मान महाराष्ट्र भूषण पनि प्रदान गरिएको थियो। गुजरातको केवडियामा नर्मदा नदी किनारमा स्थापित स्ट्याच्यु अफ युनिटी भारतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री सरदार वल्लभभाई पटेललाई समर्पित छ। यस कृतिले उनलाई विश्वव्यापी पहिचान दिलाएको हो। यो विश्वकै सबैभन्दा अग्लो प्रतिमा हो, जसको उचाइ १८२ मिटर छ। यो भारतको एकताको प्रतीक मानिन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी