
नयाँ दिल्ली, १८ दिसम्बर (हि.स.)। भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राइ) ले नोभेम्बर महिनामा गुजरातको सूरत शहर तथा छेउछाउका क्षेत्रमा मोबाइल नेटवर्क सेवाको गुणस्तरसम्बन्धी गरिएको इन्डिपेन्डेन्ट ड्राइभ टेस्ट (आईडीटी) को प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, भ्वाइस र डेटा सेवाको प्रदर्शनमा रिलायन्स जियो र एयरटेलले राम्रो परिणाम दिएका छन् भने ५जी र ४जी डेटा स्पीडको मामिलामा जियो सबैभन्दा अगाडि रहेको छ।
केन्द्रिय सञ्चार मन्त्रालयका अनुसार, २जी र ३जी भ्वाइस सेवामा कल सफलता दरका हिसाबले रिलायन्स जियो र भोडाफोन–आइडिया (VI) ले १०० प्रतिशत प्रदर्शन गरेका छन्। एयरटेलको कल सफलता दर ९९.५५ प्रतिशत र बीएसएनएलको ९२.८२ प्रतिशत रहेको छ। ड्रप कल दर एयरटेल र भोडाफोन–आइडियामा शून्य रहेको छ भने जियोमा ०.१५ प्रतिशत र बीएसएनएलमा ४.१० प्रतिशत ड्रप कल दर्ता भएका छन्। कल क्वालिटीको मानक मिन ओपिनियन स्कोरमा भोडाफोन–आइडिया ४.४८ अंकसहित सबैभन्दा राम्रो रहेको छ।
डेटा सेवाको अटो–सेलेक्सन मोड (५जी, ४जी, ३जी, २जी) मा औसत डाउनलोड स्पीडका आधारमा रिलायन्स जियोले २७९.३६ एमबीपीएससहित पहिलो स्थान हासिल गरेको छ। एयरटेलको औसत डाउनलोड स्पीड १४९.११ एमबीपीएस, भोडाफोन–आइडियाको ४५.०२ एमबीपीएस र बीएसएनएलको ४.८३ एमबीपीएस दर्ता गरिएको छ। अपलोड स्पीडमा पनि जियो ४६.५४ एमबीपीएससहित अग्रस्थानमा रहेको छ। लेटेन्सी को मामिलामा भोडाफोन–आइडिया र जियोको प्रदर्शन अन्य कम्पनीको तुलनामा राम्रो देखिएको छ।
ट्राइको जयपुर क्षेत्रीय कार्यालयद्वारा नियुक्त एजेन्सीले ३ देखि ७ नोभेम्बरसम्म गुजरात लाइसेन्स सेवा क्षेत्रमा यो ड्राइभ टेस्ट गरेको हो। यस क्रममा ४१२ किलोमिटरको सिटी ड्राइभ, १४ हटस्पट लोकेसन र २ किलोमिटरको वाक टेस्ट गरिएको थियो। परीक्षणका क्रममा सूरत शहरका प्रमुख व्यावसायिक तथा आवासीय क्षेत्रहरूसहित डायमण्ड नगर, उधना, भेस्तान, सचिन, पाण्डेसरा, वेसु, अडाजन, रांदेर, कतारगाम, मोटा वराछा, न्यू सिटी लाइट र पार्ले प्वाइन्टजस्ता क्षेत्र समेटिएका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी