
– कर्मचारी थाक्दा अटलजी आफैं मेसिन चलाउँथे
लखनऊ, २४ दिसम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका तत्कालीन प्रान्त प्रचारक भाऊराव देवरसले अटल बिहारी वाजपेयीलाई हरदोई जिल्लाको सण्डीला तहसीलमा प्रचारकका रूपमा पठाएका थिए। सन् १९४७ को अगस्त महिनामा भाऊराव देवरस र सह–प्रान्त प्रचारक पण्डित दीनदयाल उपाध्यायले भविष्यका लागि मार्गदर्शन गर्ने उद्देश्यले एउटा सांस्कृतिक पत्रिका प्रकाशन गर्ने विचार गरे। अन्ततः ‘राष्ट्रधर्म’ नामक पत्रिकाको प्रकाशन योजना बन्यो।
अखिल भारतीय साहित्य परिषदका राष्ट्रिय महामन्त्री डा. पवन पुत्र बादलका अनुसार ३१ अगस्त १९४७, श्रावणी पूर्णिमा (रक्षाबन्धन) को पावन अवसरमा ‘राष्ट्रधर्म’ को पहिलो अंक प्रकाशित भएको थियो। पत्रिकाको पहिलो पृष्ठमै अटलजीको प्रसिद्ध कविता “हिन्दू तन–मन हिन्दू जीवन, रग–रग हिन्दू मेरो परिचय” प्रकाशित भएको थियो। साथै सोही अंकमा पण्डित दीनदयाल उपाध्यायको चिन्तनपरक लेख ‘चिति’ पनि समावेश गरिएको थियो।
पत्रिकाका तीन हजार प्रति क्षणभरमै बिक्री भए। दोस्रो संस्करणका लागि पुनः ५०० प्रति छाप्ने आदेश दिइयो। क्रमशः यसको प्रसार बढ्दै दोस्रो अंकमा ४ हजार र तेस्रो अंकमा १२ हजार प्रति पुग्यो। युवा सम्पादक अटलजी देशभर चर्चित हुन थाले।
डा. बादलका अनुसार त्यो समय पत्रिका निकाल्नु सजिलो थिएन। मेसिन हातले चलाउनुपर्थ्यो। जब कर्मचारी थाक्थे, अटलजी र दीनदयाल उपाध्याय स्वयं मेसिन चलाउँथे। यति मात्र होइन, अटलजी आफैं साइकलमा ‘राष्ट्रधर्म’ का बण्डल बोकेर चारबाग रेलवे स्टेशन तथा लखनऊका स्थानीय अभिकर्ताहरूकोमा पुर्याउँथे।
पछिल्ला वर्षहरूमा अटलजी देशको जन–मनमा बस्न सफल भए। उनी तीनपटक भारतका प्रधानमन्त्री बने। ‘राष्ट्रधर्म’ का प्रबन्ध सम्पादक रहनु भएका डा. बादलले बताएअनुसार सन् २००७ मा जनसंघ र भाजपा विशेषांकका रूपमा पत्रिका प्रकाशित हुँदा यसको लोकार्पणका लागि आग्रह गर्न उनीहरू दिल्लीमा अटलजीलाई भेट्न गए।
त्यसक्रममा अटलजीले भने, “अब म लखनऊ जान सक्दिनँ।” यसमा डा. बादलले तुरुन्तै भने, “अटलजी, हामी त दिल्ली आउन सक्छौं।” अटलजी मुस्कुराउँदै मने, “त्यसो भए आउनुहोस्, म पनि आउँछु।” अन्ततः ०७ अगस्त २००७ मा अटलजी र लालकृष्ण आडवाणीको उपस्थितिमा नयाँ दिल्लीमा दुवै विशेषांकको लोकार्पण सम्पन्न भयो। अटलजीजस्तो महान् वक्ताको सामु कार्यक्रम सञ्चालन गर्ने सौभाग्य पनि प्राप्त भयो।
संयोगवश, अगस्त १९४७ मा ‘राष्ट्रधर्म’ बाट सुरु भएको अटलजीको सामाजिक यात्रा ०७ अगस्त २००७ मा ‘राष्ट्रधर्म’ का जनसंघ तथा भाजपा विशेषांकको लोकार्पणसँगै सम्पन्न भयो। यही अटलजीको अन्तिम सार्वजनिक कार्यक्रम थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी