कुलदीप सेन्गरलाई जमानत दिइनु निराशाजनक : राहुल गान्धी
Rahul-Gandhi-targets-BJP-in-Germany


नयाँ दिल्ली, २४ दिसम्बर (हि.स.)।

लोकसभामा विपक्षका नेता राहुल गान्धीले उन्नाव दुष्कर्म प्रकरणमा आजीवन कारावासको सजाय पाएका पूर्व विधायक कुलदीप सिंह सेन्गरलाई दिल्ली उच्च अदालतबाट जमानत दिइनुलाई निराशाजनक बताएका छन्।

राहुल गान्धीले महिला अधिकार कार्यकर्ता योगिता भयानाद्वारा सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टलाई रिपोस्ट गर्दै लेखेका छन्, “के सामूहिक बलात्कारकी पीडितासँग यस्तो व्यवहार उचित हो? के उनको गल्ती यति मात्रै हो कि उनले न्यायका लागि आवाज उठाइन्? जब अपराधीलाई जमानत मिल्छ र पीडितालाई अपराधीझैँ व्यवहार सहनु पर्छ, त्यो न्याय होइन, अन्याय हो।”

उन्नाव दुष्कर्म प्रकरणमा आजीवन कारावासको सजाय भोगिरहेका सेन्गरलाई दिल्ली उच्च अदालतले चार सर्तसहित जमानत दिएको छ। तर, उनी हालसम्म जेलमै रहनेछन्, किनकि दुष्कर्म पीडिताका बाबुको हत्या प्रकरणमा पनि उनलाई १० वर्षको सजाय सुनाइएको छ। उक्त प्रकरणमा दायर जमानत निवेदनमाथि अदालतले २८ दिसम्बरमा फैसला सुनाउनेछ।

उल्लेखनीय छ, सन् २०१९ मा ट्रायल कोर्टले कुलदीप सेन्गरलाई आजीवन कारावासको सजाय सुनाएको थियो। छ वर्षभन्दा बढी समयपछि मंगलबार दिल्ली उच्च अदालतले उनलाई सशर्त जमानत दिएको हो।

अदालतको यस निर्णयको विरोधमा पीडिता, उनकी आमा तथा सामाजिक कार्यकर्ता योगिता भयाना भारत गेटमा धरनामा बसेका थिए। तर अबेर राति दिल्ली पुलिसले उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande