एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न
skm cleanliness drive


गान्तोक, 28 दिसम्बर (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा मोर्चाले युनेस्को विश्व धरोहर सूचीमा सूचीकृत कञ्चनजोङ्गा राष्ट्रिय निकुञ्जभित्र पर्ने योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा 23 देखि २७ दिसम्बरसम्म पाँचदिने बृहत् सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गऱ्यो। लगभग २५ किलोमिटर लामो योक्सम–जोङ्ग्री ट्रेकिङ मार्ग समेटिएको यो अभियान मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा परिकल्पित “स्वच्छ हिमालय, हरित सिक्किम” अभियानअन्तर्गत सञ्चालन गरिएको हो।

उक्त सरसफाई अभियान मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा तथा एसकेएम युवा मोर्चाका प्रदेश अध्यक्ष लाक्पा मोक्तानको पहलमा र प्रदेश उपाध्यक्ष नरेन श्रेष्ठको समन्वयमा सम्पन्न गरिएको एसकेएमले आज प्रेस विज्ञप्तिमा बताएको छ।

पर्यटन मन्त्रीका सीए केशर कुमार खतिवडाको नेतृत्वमा दश सदस्यीय टोलीले पाँच दिन ट्रेकिङ मार्गका विभिन्न क्याम्पसाइट तथा पदमार्ग क्षेत्रहरूमा सरसफाई कार्यमा सक्रिय सहभागिता जनायो। अभियानका क्रममा टोलीले विभिन्न क्याम्पसाइटहरूबाट करिब ४२ बोरा फोहोर संकलन गरेको थियो। संकलित फोहोर योक्समसम्म ल्याउन १५ वटा खच्चर प्रयोग गरिएको थियो। फोहोरलाई व्यवस्थित रूपमा वर्गीकरण गरी पुनःप्रयोगयोग्य सामग्री योक्समस्थित रिसोर्स रिकभरी सेन्टरमा पठाइएको छ।

सरसफाई कार्यसँगै टोलीले मार्गमा भेटिएका पर्यटक तथा स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गर्दै पर्यावरणीय उत्तरदायित्व र संवेदनशील हिमाली क्षेत्रमा सरसफाईको महत्वबारे जनचेतना फैलाएको थियो। यस अभियानलाई कञ्चनजोङ्गा राष्ट्रिय निकुञ्जका अधिकारी तथा कर्मचारीहरूको सक्रिय सहयोग प्राप्त भएको थियो।

एसकेएम युवा मोर्चाले यस्ता अभियानहरूले पर्यटनसँग सम्बन्धित सरोकारवाला, ट्रेकर तथा आगन्तुकहरूलाई जिम्मेवार व्यवहार अपनाउन प्रेरित गर्दै हिमालयको स्वच्छ तथा निर्मल वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande